दशैँ ’ ६३


source : google

source : google

म लगबग १३ वर्षको थिएँ । हरेक वर्षझैँ दशैँ मनाउन काठमान्डौबाट आफ्नै गाँउ धादिंग गएको थिएँ । त्यतिवेला दशैँ एउटा खुसीको पोको थियो, धेरै दिन देखिको रमाउने धोको थियो । शहरमा पढ्ने, अनि दुई चार दिन मात्र गाँउ बस्ने भएकाले म सानोतिनो “हिरो” नै कहलिन्थें ।

फूलपातीको दिन थियो ।  “आउ जाम बाहिर डुल्न”, सन्तोषले तलबाट बोलायो । ऊ मेरो मिल्ने साथी  थियो ।  म दलिनमा बसेर यसो यताउति चियाउदै थिएँ ।  खासै काम पनि थिएन ।  दशैँमै किनेको नयाँ  पाइन्ट लगाएँ, अनि तल झरें ।   हामी दुई बजार डुल्न लाग्यौं ।

खहरे बजार खासै ठूलो छैन । विचमा मोटर गुड्ने सडक र दाँयावाँया लस्करै मिलेका घरहरु, कुनै चित्रकारले क्यानभासमा उतारेको सुन्दर वस्ती जस्तै छ खहरे । बेशी झरेकाहरु दशैँ मनाउन गाउँ नै लागिसकेका छन् ।  यहिँका रैथाने र स्थाई बसोबास भएकाहरु मात्र छन् ।  केहि पसल खुलेका छन् ।  म हरेक पटक दशैँ मनाउन गाँउ आँउदा केहि नयाँ परिवर्तन भएकै हुन्छ ।  योपाली आँखुखोलामाथि नयाँ झोलुंगे पुल बनेछ । चिसो हावाको मन्द वेगसंग खोलाको सुसाइमा हराउदै पुलबाट कंचन पानी बगीरहेको हेर्दा छुट्टै आनन्द आउछ ।

हामी दुई त्यतैतिर लम्कियौं ।   पुलको जिपनेर मान्छेहरुको हुल थियो, बीचमा एकजना कराइरहेको थियो।   ए, त्यहाँ त लंगुरबुर्जा खेलाइरहेको रहेछ ।  हामी पनि त्यहि हुलमा मिसीयौं ।

“पान तेव्वरSSSSSSSS, अरु बात छैन” खेलाउने मान्छे करायो ।

हेर्दा हेर्दै एउटा मान्छेले ५० को १५० कमायो । अरु खालमा राखेको पैसा भने सबै खेलाउनेले नै सोहोर्यो ।

मलाई पनि कुनैमा थापम थापम झैँ भयो । तर आफुसंग पैसा थिएन ।  कसो गर्ने के गर्ने भयो । सन्तोषलाई भने, “ओइ पख है, म घर गएर पैसा लिएर आउछु ।”

उसलाई त्यहिँ वस्न लगाएर म घरतिर लागेँ ।  घरमा कोहि थिएनन ।  बुबा खसी लिन पल्लो गाँउ जानुभएको थियो, आमा पारी मिलमा ।  लौ पर्यो फसाद, कसो गर्ने त । घरमा एक-दुई रूपयाँको सिक्का यता उति झरीरहेको हुन्थ्यो ।  छ कि भनेर खोजें ।  तर कतै केहि भेटिन ।

झट्ट आँखा भित्ता झुण्डीरहेको हजुरबुबाको इस्टकोटमा गयो । ढुंगा खोज्दा देउता मिलेझै भयो ।  मनमा पाप पलायो ।  धत्त्, त्यस्तो काम गर्न हुन्न झैँ लाग्यो । तर, आ जे पर्ला पर्ला, कसरी थाह पाउलान र । हात भित्री गोजीमा छिराएँ र २०, २० को दुइटा नोट झिकें । हो, म जिन्दगीमा पहिलोपल्ट चोर बने, हजुरबुबाको खल्तीको ४० रुपयाँ चोर ।

त्यसपछि फिलीली कुदेर उहि ठाँउमा पुगें ।  मान्छेको भिड अलिक कम भएछ ।  सन्तोष भने त्यहिँ रहेछ ।

“ल्यायौ ?” उसले सोध्यो ।

“अँ, मुन्टो हल्लाएँ ।”

ल पख एकछिन दाउ हेरम ।  खालमा १-२ रुपयाँका सिक्का देखि १०० रुपयाँ राख्ने सम्म थिए । गट्टी गुर्क्याउने एकजना र पैसा सोहोर्ने अर्कै थियो ।  जम्मा पारेको पैसाको चुली नै बनिसकेको थियो ।   अघिदेखि दाउ पारिरहेको त्यो मान्छेले इटामा राखेर दोव्वर खायो । उसैको सिको गर्दै जता राख्यो उतै राख्ने बिचार गरें ।

जे पर्ला पर्ला, ल पानमा २०, मैले २० रुपयाँ पानको खालमा फालिदिएँ ।

“झण्डी चौवरSSSSSS”

“ज्या, थुइक्क झण्डीमा राख्नु पर्ने रैछ ।” अनिल सुसायो, “हेर, ऐले ठाँउको ठाँउ ८० रुपयाँ हात लाग्थ्यो ।”

अव बाकि २० रुपयाँ थियो । चोक्टा खान गाको बुढी, झोलमा डुवेर मरी भने झैँ होला जस्तो भयो ।  आ, जे पर्ला पर्ला, गए बाउको, आए साउको ।

“ल झण्डीमा २० ।” मैले झण्डीको खालमा २० रुपयाँ फालिदिएँ ।

“पान तेव्वरSSSSSS”

तैट, पानमा राख्याबेला झण्डीमा पर्यो, झण्डीमा राख्याबेला पानामा । आज दाउ नै रहेनछ । त्यसरी ल्याएको पैसा, सबै हारियो, मन खिन्न मात्र भयो ।

“ल हिड जाउँ, पारी चौतारातिर पिंग खेल्न ।” सन्तोषले भन्यो ।

अव त्यहाँ वसिरहेर काम थिएन । घर जान मन पनि थिएन ।  हामी उतै चौतारातिर लाग्यौं ।

सधै मान्छेहरुको भिड हुने पिंग आज भने खाली रहेछ ।  सबैलाई दशैँ लागेछ क्यारे । पहिले सन्तोष खेल्यो, उसले उभिएर आफै मच्चायो ।

“चह चह हुइSSSSSSSSSS” ऊ चिच्यायो ।

म भने आफै मच्चाउन सक्दैनथें । सन्तोषले भोटेसाल लाइदियो ।  मलाई कहाली लाग्यो, तर बल गरेर अझै मच्चाउन खोजें ।  ऊ जस्तै उभिएर आफैं मच्चाउन खोजें । पिंग बाङ्गो मच्चियो । आकस्मात कापे चिप्लियो र खुट्टाले ठाँउ छोड्यो । म पिंगबाट उछिट्टीएँ र तल बङ्लङ्ग बजारिएँ ।

ढुंगामा ठोकिएकाले निधारमा चोट लाग्यो, अलि अलि रगत पनि बग्न थाल्यो ।  सन्तोष आएर हत्तपत्त उठाइहाल्यो ।  म रुन थालें ।

मुलबाटो हुदै पल्लो गाउँको ढकाल काका आए । उनि मलाई राम्रोसंग चिन्थे । बिहान बिहान हाम्रो घरमा दुध पुराउन आउथे । सबै कुरा थाह पाएसी मलाई काँधमा बोकेर घर लगे ।

घरमा मेरो नै खोजी हुदैरहेछ । निधारबाट रगत बग्न रोकिसकेको थियो । बुबाले मलम लगाइदिनुभयो । एक दुई दिनमा घाउ खाटा बस्यो र निको भयो । त्यो दशैमा त्यसपछि मैले पिंग खेलिन, अँ साँची लंगुरबुर्जा नि खेलिन । 😀

आजभोलि पनि पिंग देख्नेबित्तिकै यो घटना मानसपटलमा ताजा स्मृति बनेर आउछ । घाउ त निको भयो तर त्यो दिनको खत निधारमा बसिरह्यो, अनि मनमा पनि, बाल्यकालको दशैँको एउटा अमिट छाप बनेर । 🙂

खहरे बजार

खहरे बजार

Advertisements

पोखरा हाइकिंग #०१


“द वर्ल्ड इज अ बुक, एण्ड दोज हु डन्ट ट्राभल रीड अन्ली वन पेज ।” अलिक पहिले कुनै विद्वानको उद्दगार एउटा कपीको अन्तिम पानामा देखेको थिएँ । त्यसैबेला देखि नयाँ ठाउ घुम्ने र नयाँ परिवेशमा भुल्ने म भित्रको भुत थप जुर्मुराएको थियो । यात्रामा हरेक पाइलाले नयाँ कुरा सिकाउछ, बुझाउछ र आफैलाई भुलाउछ । तर यो यात्रा नितान्त नौलो थियो । किनकी, यात्राको सहयात्रीहरु आपसमा प्रत्यक्ष चिनजान र देखभेट थिएन । भए पनि कमै थियो, सबै केवल भर्च्युअल संसारका साथीहरु थिए ।

करिव १ हप्ता अघि अर्घेलो थापाले डी. एम. पठाए ।

“हेलो साथी, यो शनिवार भदौ ७ गते हाइकिंग जाने योजना बन्दैछ (हल्लनचोकबाट मेथ्लांग), फुर्सद भए यो शनिवार विहान ८ बजेभित्र हल्लनचोक आउनुहोला ।”

ट्वीटरमा काठमान्डौका साथीहरु हरेक महिनाको अन्तिम शनिवार हाइकिंगमा रमाएका ट्विट र ब्लगहरु पढ्न पाइन्थ्यो । आफु पोखरामा भएकोले त्यसमा सहभागी हुन संभव भएको थिएन । पोखरामै ट्वीटरमा सक्रिय साथीको यो प्रस्ताव सुनेर मन फुरुंग र उत्साहित भएको थियो ।

“म शुक्रवार खवर गर्छु भनेर रीप्लाई गरें ।”

सधै उहि पढाइ र होस्टेलको एकै वातावरणबाट उकुसमुकुसिएको म मन बहकाउने पृथक माध्यम खोज्दै थिएँ । ढुंगा खोज्दा देउता मिल्यो भनेझै त्यो हाइकिंग मेरो लगी गतिलो बहाना बन्यो । फरक फरक विधाका नौला साथीहरुसंगको भेटघाट, अन्तरक्रिया र घुमघामले धेरै नयाँ कुरा सिकिने र दिमाग पनि चंगा हुने कुरामा दुइमत थिएन ।

शनिवार विहान ८ बजेतिर म होस्टेलबाट निस्किएँ । आकाश त्यति सफा त थिएन, तैपनि पानी परिहाल्ने छाटकाट पनि थिएन । ३ वर्षे पोखरामा वसाइमा मैले यहाँको मौसम कहिल्यै अड्कल लाउन सकिन । घाम लागीरहँदा बाहिर निस्कियो, फर्कदा निथ्रुक्क भिजिन्थ्यो । आज पनि छाता बोक्ने झन्झट गरिन, किनकी आज म भिज्नैपरे भिज्ने मुडमा थिएँ । आज नौलो उत्साह र जोश म भित्र पलाएको थियो । पृथ्वीचोकबाट गाडी चढी सोझै हल्लनचोकमा पुगेर ओर्लिएँ ।

पोखरेली टुइटेहरुको ठूलै समुह त्यहाँ उपस्थित भैसकेको रहेछ । करिव २० जनाको टुकडी भेला भएपछी एकापसमा सामान्य चिनापरिचय भयो । फेवा ताललाई दृश्यमा छोड्दै करिव ९ वजे मेथ्लांगको डाँडा पुग्नको निम्ती पदयात्रा सुरु गर्यौं ।

हाइकिंगको  सुरुवातमा ग्रुप फोटो

हाइकिंगको सुरुवातमा ग्रुप फोटो

हाइकिंग भन्दै डाँडाकाँडा चढ्नु भन्दा बरु फेवातालमा उम्रेको जलकुम्बी झार उखेल्न लाग्ने कि भन्ने कुरा समिर कट्टेलजी ले निकाल्नुभयो । कुनै दिन फुर्सद मिलाएर त्यो पनि गर्ने भन्दै हामी अघि बढ्यौं ।

एकाविहानै घरबाट निस्केको र ठूलै डाँडो चढ्नुपर्ने कुरालाई मध्यनजर राख्दै पहिले चिया-विस्कुट खाएर मात्रै उभो लाग्ने कुरा भयो । नजिकैको होटलमा लहरै दाँयाबाँया बसेर चिया विस्कुटको साथमा मिठा मिठा गफले स्वादमा थप मिठास थपेको थियो । टेवलमा रहेको साप्ताहिक पत्रिकामा हेर्दा ५-६ जना पोखरेली टुइटेहरुको ट्विट छापिएकोले पोखरेलीहरुको पनि ट्विटरमा बलियो पकड रहेको निस्कर्ष त्यतिवेला एक विद्वान ट्वीटेले निकालीहाले ।

चिया बिस्कुट खादै

चिया बिस्कुट खादै

सुन्दर नगरी पोखरा र फेवाताललाई क्यानभासमा छोड्दै चिया विस्कुटले थपेको जोश र जाँगरसाथ हामी लस्करै उकालो चढ्न लाग्यौं । समसामयिक राजनैतिक, सामाजिक विषयमा साथी कोशिस ओझाको विवेचानात्मक गफले हिडाइमा थप उर्जा थपेको थियो । विच विचमा हुने ठट्यौली जोकहरुमा हुने गलल्ल हाँसोले त माहोल झन् तताइरहेको थियो । उमेरमा सबै साथीहरु लगबग गधेपच्चिस हाराहारीकै थिए, त्यसै माथी सबै पुरुष मात्रै । सबैका कुरा उस्तै उस्तै हुन्थे, चुट्किला र उरन्ठेउला गफ छाँटन कोहि भन्दा कोहि कम थिएन ।

उकालो लाग्दै

उकालो लाग्दै

कतिपय टुइटेहरुको गुनासो भने बरिस्ठ बनिटोपलिएकाहरुको फलो ब्याक नपाइएको भन्ने हुन्थ्यो । अरु बरिस्ठहरुले गरुन नगरुन, यहाँ उपस्थितहरुमा भने सबैले फलो आदानप्रदान गर्ने सहमती सर्वसम्मतीले भयो ।

अघि लागेका उरन्ठेउला साथीहरु मुलबाटो छोडेर पहिरोबाट डाँडो चढ्न लागे । त्यो अक्करबाट चिप्लिदै, घिस्रीदै र लडीबुडी खेल्दै माथि चढ्नुको अनुभव पनि निकै रोमान्चक रह्यो ।

पहिरो चढ्दै

पहिरो चढ्दै

फेरि अलि माथि पुगेपछि एक हुल साथीहरु मुलबाटो छोडेर झाडी हुँदै मास्तिर लागे । बाटो पहिल्याईसकिएको थिएन । अलिक हिडेपछि वल्ल सानो गोरेटो फेला पर्यो, तैपनि साउन-भदौको घाँसले निमिट्यान पारेर बाटो छोपेको थियो । मुस्किलले उकालीमा शिरुका घाँस र बुट्ट्यानसंग पैठेजोरी खेल्दै अघि लाग्यौं । अरु साथीहरु भने मुलबाटोबाटै उभो लागे । धेरै नै माथि पुगिसकेकाले उनीहरुसंग अव डाँडामै भेट्ने कुरो भयो । अरु साथीहरु हामीबाट छुटेकाले पहिलो हाइकिंगमै हाइकिंग पार्टी फुटेको ठट्टा पनि भयो । मेथ्लांगको टुप्पोमा पुगेपछि फेरि हामी सबै भेट भयौं र हाम्रो एकता भयो ।

काठमान्डौका टुइटेहरुको हाइकिंगमा एकपटक खाना ककनीबाट नगरकोट ल्याउनुपरेको किस्सा यस्तै ब्लगमा पढिएको थियो । हाइकिंगमा खानाको ठूलै समस्या पर्नेरैछ भन्ने त्यतिबेला थाहा भयो, जतिवेला हामी खानाको खोजीमा मेथ्लांगको डाँडा हुदै सरांगकोट जाने बाटोसम्म पुग्यौं । बल्ल बल्ल सरांगकोट जाने बाटोबाट अलिक माथि एउटा होटल भेटियो । रमाइला ठट्याउली, सांगीतिक, साहित्यिक माहोलले मन त तृप्त थियो, तर पेटको मुसो मार्न केहि चारो हाल्नैपर्दोरहेछ । कास, गफ र रमाइलो माहोलले पेट पनि भर्ने भए यो संसारमा कसैलाई भोकभोकै बस्नपर्ने थिएन होला ।

खानाको लागि कुर्दै

खानाको लागि कुर्दै

करिव २ वजे खानाको अर्डर दिएर हामी औपचारिक परिचयात्मक र प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम तिर लाग्यौं । सबैले आ-आफ्नो प्रेम कहानी देखिन जीवनका आरोह अवरोह र उकाली ओराली सम्मका कुरा खोतल्न भ्याए । हन्टर बुढाको कविता र अर्घेलोथापाको अभिनयले वाहवाही बटुल्यो । अरु साथीहरुको गजल, मुक्तक र अन्य खुराकहरु पनि प्रसंशायोग्य थियो । साँच्चै हरेक मानिस अनेकन प्रतिभाको खानी हो । विश्वमा कहलिएकाहरुले आफ्नो प्रतिभा चिन्न सके, आफुलाई फुल बनाएर फुलाउन सके, तर विडम्वना यहाँ कति प्रतिभावान फूलहरु फुल्न नपाइकन ओइलाईरहेका छन । तिनको लेखाजोखा कसले गर्ने !

भोको पेटमा लोकल कुखुराको झोलसंग दुई थाल भात दन्काइएको पत्तो भएन । त्यस्तो अलौकिक स्वादको भोजन अव फेरि भलै खान पाइएला । वास्तवमै भोजन भन्दा भोक मिठो, अझ त्यो भन्दा पनि साथीहरुको विच विचको जोक मिठो । 😀

लेखनाथ र पारी काहुँडाँडाबाट पानी पोखरातिर आइरहेको थियो । साँझ पनि पर्नै लागेकाले हामी मन नलागी नलागी पनि ओरालो लाग्नुको विकल्प थिएन । बाटोमा ठाँउ ठाँउमा फोटो सेसन भइरह्यो । तल हाइवे पुग्ने लाग्दा पानी पर्यो । त्यो पानीमा भिज्नुको पनि वेग्लै रमाइलो थियो किनकी म विहानै पानीमा भिज्ने मुडमा होस्टलबाट निस्केको थिएँ । पर्स्यांग पुगेपछि हामी चाडै नै अर्को हाइकिंगमा यसरी नै फेरि भेट हुने र भरपुर रमाइलो गर्ने बाचा गर्दै एक-आपसबाट छुट्टियौ ।

भर्चुअल संसारका यी साथीहरुसंग वास्तविक जीवनमा भएको हाइकिंग निकै अविष्मरणिय रह्यो । टाढा टाढाका अपरिचित मनहरुलाई जोड्न सहयोग पुराउने ति सामाजिक संजालका प्रणेताहरु साधुवादका पात्र हुन् ।

गफ आ आफ्नै..

गफ आ आफ्नै..

डाँडा चढ्दै

डाँडा चढ्दै

नेपालको झन्डा :)

नेपालको झन्डा 🙂

भिन्दै भिन्दै पोज

भिन्दै भिन्दै पोज

रमाइलो

रमाइलो

सुन्दर पोखरा उपत्यका

सुन्दर पोखरा उपत्यका

सबै आ आफ्नै पारामा

सबै आ आफ्नै पारामा

एक जोडी प्याराग्लाइडिंग ;)

एक जोडी प्याराग्लाइडिंग 😉

हाम्रो पोखरा, राम्रो पोखरा

हाम्रो पोखरा, राम्रो पोखरा

ओरालो लाग्दै

ओरालो लाग्दै

हाइकिंगम सहभागी ट्विटेहरु:

@puruad @ArgheloThapa @Sameerkatel @koshisojha @PreMantry @iprithak @Lionel_Anup @Is_aryal @gobinthe @hunter0buda @AshishKunwar @AjayAnamol @Lucky_cmp @anish_prati @ranjit_karki @m_w8ing4u @Allaaree

 

गोल….


२०५९ साल, कक्षा ४ मा पढिन्थ्यो । रवि सर आज स्कुल आउनुभएको थिएन, त्यसैले अन्तिम घन्टी भएन । स्कुल अलिक चाढै नै छुट्टी भयो । राम, गोपाल र म संगै घरतिर लाग्यौं । असारको मौसम, फाट्टफुट्ट पानी छिटाइरहेको थियो । पारी डाँडामा भने ठूलै पानी दर्कीरहेको थियो । बिहान घाम लागेकोले ओढ्नलाई प्लास्टिक ल्याएको थिएनौं । यो वर्खामासको पनि भरै नहुने, कहिले घाम, कहिले पानी । आज वित्यासै पार्ला जस्तो छ नि, म मनमनै सोच्दै थिएँ ।

भन्ज्यांग पुगेसी पल्ला घरे काकी भेट भयो । फाँटबाट मेला सकेर उकालो लाग्दैथिन ।

“चाढै लम्क है बाबु हो, बेशी फाँटबाट ठुलै पानी आउदैछ यता ।” उनले पनि छिटो बाटो लाग्न सुझाव दिईन ।

लौ पानीले गोद्नेभयो भन्दै हामी वित्तातोडले कुद्न लाग्यौं । अलिक पर पुगेसी खुट्टा ढुंगामा अल्झेर चप्पलको तना चुड्यो । ओहो कसो लडिएन । एकहातले चप्पल र अर्को हातले किताव काखीमा च्यापेर म पनि पछिपछि कुदें । घर पुगुन्जेलसम्म पानीले ठूलै रुप लिईसकेको थियो । रामे र गोपालको घर अलिक ओरै थियो ।

“छिटो तयार भएर वस है । हामी खाजा खाइहोरी आइहाल्छौं, ढिला गर्नुहुन्न्न, फेरि भ्याइन्न ।” रामले छुट्टिनुअघि भनेको थियो । म मुन्टो हल्लाउदै आफ्नो घरतिर लागेँ ।

“आमा, खाजा के छ आज?”

घर पुग्ने वित्तिकै कितावकापी फ्यात्त खाटमा फाल्दै आमालाई सोधें । चुडिएको चप्पललाई खाटमुनि मिल्काएँ ।

“लुगा फुकालेर भित्र आइज बाबु” आमाले मायालु पाराले बोलाउनुभयो । भित्र धुवाँले कुइरीमण्डल भएको थियो । आमा खयाक्क र खुक्क खोक्दै अगेनामा फू फू गर्दै हुनुहुन्थ्यो । म हतार हतार भित्र छिरें, अनि थालको मकै भटमास बाहिर ल्याएर खाटमा बस्दै कर्याम कर्याम चपाउन थालें ।

“ल हेर त, लुगा पनि नफुकाली, हातगोडा पनि नधोईकन यत्तिकै खान वसेको, खुट्टा पनि हिलै हिलो छ।“ आमा भित्रबाट मुर्मुरिदै हुनुहुन्थ्यो ।

“आज अलिक हतार छ । पल्ला गाम जानु छ ।”

“किन जाने नि पल्ला गाम यस्तो पानी परीराको वेलामा? खुरुक्क घरै नवसेर ।” आमा भित्रैबाट च्याठीदै हुनुहुन्थ्यो ।

मैले सुनेको नसुनेझै गरेर मकै भटमास चपाईरहें । निकै भोक लाग्यारैछ क्यारे, ठेट्ना पनि बाँकी नराखी सिनित्त पारें । मकै भटमास पहिले यस्तो मिठो मलाई कहिल्यै भएको थिएन ।

“बा कता जानुभाछ ?”

“खेतमा जानुभाछ, पानी लाउन । अस्तिभर्खर खनेको कुलो पनि थुन्दीसकेछन असत्तीहरुले, गरिखाको त कसैले देखिनसक्ने भए नि ।”
आमा अझै के के बोल्दै हुनुहुन्थ्यो, म भने दलिनतिर लागेँ । दराज खोलेर पोहोर दशैंमा किनेको सर्ट र पाइन्ट झिकेर लगाएँ । ऐनामा हेर्दै कपाल कोरें र अस्ति बा ले बजारबाट ल्याइदिनुभएको सानो भकुण्डो गोजीमा हालें । आफुलाई कुनै फिल्मको हिरोझैँ सम्झें । आकासे निलो सर्ट, खैरो पाइन्ट, साँचै म गीतमा हिरोइनसंग नाच्ने र गुण्डालाई कुटेर भगाउने हिरोभन्दा कम थिइन ।

पानी अझै दर्किदै थियो, भित्तामा किलामा झुण्डाइराखेको ओड्ने प्लास्टिक पनि झिकें ।

“ओइ किस्ने !”

तलबाट बोलाएको आवाज आयो । म छिटोछिटो भर्यांगबाट तल झरें, राम र गोपाल आइसकेका रहेछन ।

“ल हिड केटो, ढिलो हुन आँटीसक्यो ।” उनीहरुले हिड्न इशारा गरे ।

“आमा, म गएँ है, अलिक ढिलो हुन्छ होला” आमा अझै पनि भित्र अगेंनामा फू फू गर्दै हुनुहुन्थ्यो, सायद दाउरा पानीले भिजेर नवल्ने भएको थियो ।
पल्लो गाम जान लगवग एक घण्टा लाग्थ्यो । वेशी झरेर फेरि उकालो लाग्नुपर्थ्यो । खेतखेतै जाने हो भने चै पौने घण्टामा पुगिन्थ्यो ।
समीको फेदबाट ओरालो लाग्नै लाग्दा साने काकासंग भेट भयो । एक हल गोरु र हलो-जुवा काँधमा हालेर बुढा घरतिर उकालो लाग्दैथे ।

“कता हो केटाहो?”

“हामी पल्लो गाउ जान लाग्या काका ।”

“यस्तो पानीमा । विस्तारै जाओ, चौतारा नेर पैरो गाकोछ, बाटो चिप्लो छ लडौला ।”

“हुन्छ काका ।”

हामी बुट्यानहरुको आड लिदै ओरालो लाग्यौं । नभन्दै चौताराभन्दा अलिक मुनि पैरो गारैछ, बाटो पनि कटेको रैछ । घुमेर अलिक माथिबाट अगाडी लाग्यौं ।

छोटो बाटो रोज्दै हामी खेतको आली-आली दगुर्दै थियौं । वर्खामास, पानी परिरहेको समय, त्यसमाथि हतार हतार हिडिरहेको हामी । खेत रोप्नलाई भर्खर लगाएको आली थियो । घाँस उम्रेर माटोलाई समाएको थिएन । तैपनि धन्न खुट्टाले ठाउमै टेकिरहेको थियो ।

खेत सकिनै लागेर उकालो आउन लागेको थियो । एउटा अग्लो काँन्ध्लोबाट आली कटाएर तल्लो गरामा पानी लाइरहेको थियो । फड्किन खोज्दा मेरो खुट्टाले ठाउ छोड्यो । आलीको डिलमा गएर खुट्टा टेकियो । अनि म चिप्लिएर तल्लो गरामा वजारिन पुगें । तल पुग्दा पाइताला गएर मकैको ढोडमा विझ्यो र छेस्कोले खुट्टै छेडेजस्तो भएर बेस्मेरी दुख्यो । म खेतको कुनामा उत्तानो परेर पल्टिएँ ।

“आइया” वेस्मेरी चिच्याएँ ।

राम र गोपाल हत्त न पत्त मलाई उठाउन आए । तानेर माथि डिलमा लगेर राखे । खुट्टामा छेस्का विझेको ठाउमा छाला उप्केको थियो भने बाँया खुट्टा पनि मर्केको थियो । हातमा र पुरै कपडामा हिलैहिलो लागेको थियो ।

“दुखेको छ ? हिड्न सक्छस ?” गोपालले सोध्यो ।

“सक्छु” म वल गरेर उठेँ र खुट्टा खोच्याउदै हिड्न खोजें ।

“नसक्ने भए फर्किउ घर, म बुइमा बोकेर लान्छु ।” रामले शान्त्वना दियो ।
तर मलाइ जसरी भए पनि जानुनै थियो । आफ्नो निर्णयबाट पछि हट्ने पक्षमा म थिइन ।

“वरु एकछिन आराम गरौँ, अनि त्यसपछि कुदौंला ।” गोपालले नयाँ उपाय सुझायो ।

एकछिन आराम गर्न लागियो । म भने खुट्टा खोच्याउदै अलिक पर कुलोनेर हातमा र लुगामा लागेको हिलो पखाल्न लागेँ । परबाट एकजना अधवैशें पुरुष आकृति हामीभए तिरै आउदैथियो । यस्तो पानी परिराको वेलामा, त्यो पनि खेतमा, को हुन सक्ला त । हामी तिनै जना गम खायौं । नजिक आएसी

वल्ल थाहा पाइयो, बा पो हुनुहुदोरहेछ । अँ, अघि आमाले त बा खेतमा जानुभाछ भन्नुभाथ्यो ।
बालाई सव कुरा वेलीविस्तार लगायौं । उहाँ पनि हामीसंगै पल्लो गाम जाने हुनुभो । एकछिन पछि हामी सबै उकालो लाग्यौं, बाले मलाई काँधमा बोक्नुभयो । म अझै सानो छंदा कहिलेकाहि बजार जाँदा बाले मलाई काँधमा बोक्नुहुन्थ्यो । अहिले भने ठूलो भैसकेकोले म आफै हिडेरै जान्थें । म फेरि बाको काँधमा चढ्न पाएँ, मेरो खुसीको सिमा रहेन । पानी पर्न भने अझै पनि रोकिएको थिएन ।

ऊकालो हिड्दा हिड्दै हामी पल्लोगाम नजिकै पुग्यौं । त्यहाँसम्म पुग्दा भने पानी अलिअलि थामीइसकेको थियो । पुछार घरबाट सिधै मुखियाबाको घरतिर
तेर्सै लाग्यौं । मुखियाबाको घरको आगनमा ठुलै भिड थियो । भुराभुरी, तन्नेरी बुढा बुढी सबै जम्मा भएका थिए । हामी पुग्ने वित्तिकै एक्कासी सबै चिच्याए ।

“गोओओओओल”

रोनाल्डोले ब्राजिलको लागि दोश्रो गोल गरेको थियो ।

हामी तिन जना पर्खालमा वसेर खेल हेर्न लाग्यौं । बा भने कोको संग गफ गर्न लाग्नुभयो । खेल सकिन लाग्दा भने कहिल्यै नसकिए नि हुने झैँ लाग्दैथियो । रेफ्रीले ९० मिनटको सिठी वजाए । ब्राजिलले खेल २-० ले जित्यो र विश्वकपको ट्रफी उचाल्यो । रोनाल्डोले सबैभन्दा धेरै गोल गरेबापत सुनको जुत्ता पनि पायो ।

ब्राजिलले जितेसी र रोनाल्डोले सुनको जुत्ता पाएसी मेरो मन चंगा जस्तै भयो, कता कता उड्न थाल्यो । खेल सकिएसी वेलुकी ७ बजेतिर हामी घर फर्कियौं । फर्कदा पनि बाले मलाइ काँधमै बोकेर घर पुराउनुभयो । त्यसपछि धेरै दिनसम्म घरको आगनमा बाले ल्याइदिनुभएको बल खेल्दा आफुलाई रोनाल्डो सम्झेर गोल हानीरहें । सोचें, कुनैदिन म पनि साँचिकै रोनाल्डो जस्तै बन्छु र नेपाललाई विश्वकपमा पुराएर त्यसरीनै गोल हान्छु ।

रमाइला भित्रका नरमाइलाहरु

Quote


यो लेख गण्डकी मेडिकल कलेजको वार्षिक स्मारिका “Venture vol.2” मा प्रकाशित भएको थियो ।

Source: google

Source: google

दोश्रो वर्षको बोर्ड एक्जाम आउन अव मात्र २ महिना वाँकि छ । होस्टेलमा दिउसोको खाजा खाने समय भएको छ,  चिया र विस्कुट लिएर कोठामा साथीहरु जम्मा भएका छन् । अझै २ महिना वाँकि छ भनेर प्राय सबै ढुक्क देखिन्थे । पढाइकै विषयमा गफगाफ भईरहेको छ ।

“अव जाँच आउन २ महिना वाँकि”

“ए टन्नै रहेछ नि टाइम अझै”

“कहाँ टन्न हुनु, अवको १५ दिनमा थर्ड पेपर एकपटक हेरेर सकाउने, त्यसपछि १० – १० दीन ३ ओटै पेपर रीभीजन गरेर भ्याउने, सकिएला त?”

“ए भनेसी वाँकि १५ दीनमा फेरि अर्को राउण्ड री-रीभिजन गर्ने? नसकिने भो वा तलाई त”

“आफुले एकपटक पढेर भ्याउने कहिले हो, केटाहरु रीभिजनको कुरा गर्दैछन, तैट”

***

समय वित्दै जाँदा अव एक्जामको लागि १ महिना मात्र वाँकि छ । सवैजना उसैगरि उही समय उही कोठामा जम्मा भएका छन् । आज चै खाजा चिया र निमकिन परेछ । कोहि अझै नि ढुक्क देखिन्थे भने कोहि चै अलिक हतास देखिन्थे । एउटाले अर्कोलाई प्रश्न गरेर तँ भन्दा म के कम, तैले यो पढिस, मैले त पढें भनेर देखाउने गरि गफ भईरहेको थियो ।

“अव १ महिना वाँकि, उफ्फ़ कहिले सकिएला यो टन्टो, गीदी खाइसक्यो मेरो त”

“तैले त्यो पढिस?”

“ह्या छैन, अहिलेसम्म कहिले सोध्यारैनछ, के सोध्ला र योपाली नि, वरु त्यो चै इम्पोरटेन्ट जस्तो लाग्छ मलाई”

“आ, त्यो पनि छोड्दें मैले त, अव त यहि गाइड पढ्ने हो, त्यो पनि सेलेक्टेड, कहाँ भ्याइन्छ र नत्र त”

“पढ केटो, पढ फेरि फुत्त त्यहि सोध्छ अनि थाहापाउलास, योपाली प्याटर्न चेन्ज भाछ कान्छा एक्जामको”

***

अव जाँच मात्र १५ दिन टाढा छ । साथीहरुको आवतजावत अलिक कम भएको छ । सवै आ आफ्नो कोठामै पढिरहेका छन । खाजा खाँदा गफमा भुलिएला भनेर धेरै अरुको कोठामा पस्न छाडेका छन् । कोठामा केहि उपस्थितहरु भने गफिदै छन् ।

“ल हेर्दाहेर्दै अव त ढोकैमा आइपुग्यो जाँच पनि, मलाई त डर पो लाग्न थाल्यो त”

“त्यत्रो पढ्याछस, अझ डर लाग्यो भन्न लाज पनि छैन है”

“फेलै त के भइएला र यार, ५० पर्सेन्ट त कटला नि जसतसो”

“हेर यत्रो छोडिएको छ, जुन जुन छोडेको त्यहि त्यहिबाट सोध्यो भने त डुवीहालियो नि”

“अव ५ – ५ दीन दिएर तिन ओटै पेपरलाई खरर फाइनल लुक्स दिनुपर्छ, पढेको केहि याद छैन अहिले त मलाई”

***

पहिलो पेपरको लागि लागि अव जम्मा ५ दीन वाँकि छ । कोहि छतमा त कोहि चौरमा, कोहि आफ्नै कोठामा पढाइमा व्यस्त छन ।खाने, वोल्ने फुर्सद पनि एकदम कम छ, कोहि पनि समय खेर फाल्न चाहन्नन । सवै सधै पढीरहेकै हुन्छन तर, सवैले आफ्नो धेरै पढ्न वाँकि रहेको दुहाइ दिईरहेका हुन्छन ।

कसैसंग भेटिएमा गफ यस्तो हुन्छ ।

“ओइ कति बाँकि छ?”

“कहाँ यार, मेरो त सिंगै वाकि छ अझै, कैले भ्याउनेहो कुन्नी”

“म त फेल हुन्छु होला यार”

***

भोलि पहिलो पेपरको एक्जाम छ ।सवै हतास देखिन्छन, कति आत्तिएका पनि देखिन्छन ।सवैको एउतै  उदेश्य छ, पहिला त जाँचमा पास हुने, अनि तारतम्य मिले जतिसक्दो धेरै नं ल्याउने । खाना खाने वेला मेसमा यस्तो कुरा सुनिन्छ:

“ल भोलि त जाँच”

“कतिवेला गएर पढेको सवै ओकालौं जस्तो भाछ है तलाई”

“आज सुतिएला जस्तो छैन, अझै कति पढ्न वाँकि छ”

“ओभरलोड भएर सव कता उडिसक्यो पढेको, अव पागल हुन मात्र वाँकि छ”

यस्तै यस्तै कुरा गर्दै फस्ट पेपर सकियो, अनि दोश्रो र तेस्रो पनि । मेडिकल लाइफको रमाईलो भित्र नरमाईलोहरु पनि केहि छन् भने त्यो यहि परीक्षाहरु हुन् । खुला पंछी भइ आकाशमा उड्न चाहनेलाई पिंजडामा कैद हुन वाध्य वनाउछ यो परीक्षाले, न त भाग्न नै सकिन्छ न त पछि हट्न नै ।परिक्षा सकिएको दीन सव गाडीबाटै होस्टेलमा कराउदै छिर्छन । हुर्रे ! हुर्रे ! जाँच सकियो, सेकेन्ड इयर सकियो । अव पार्टी!!!

मानव र हराएको संवेदना


human

Source: Google

प्रख्यात बैज्ञानिक सर आइज्याक न्युटन ले कुनै समयमा भनेका थिए – म ठुल्ठुला ग्रह र पिण्डहरुको गति नाप्न सक्छु, तर मानिसको पागलपना नाप्न सक्दिन। उनको यो भनाई त्यतिखेर अलिक फरक सन्दर्भमा आएको थियो, तर यसले अहिलेको स्थितीमा मानव सभ्यता र यसको विकासक्रम कतातिर उन्मुख छ भन्ने कुरालाई ज्वलन्त रुपमा प्रस्तुत गरेको छ । यहाँ चर्चा गर्न खोजिएको विषय हामी आफ्नै वारे हो, हामी समाजको सर्वश्रेष्ठ प्राणी, अर्थात मानव

हिजो बेलुकी सामाजिक संजालहरुमा स्क्रिन तलमाथि स्क्रोल गरिरहँदा अचानक एउटा पोस्ट आयो, मलेशियन एरलाइन्सको एम्सटडर्मबाट क्वालालम्पुर आउदै गरेको २९५ जना बोकेको जहाज युक्रेनी आकाशमा दुर्घटनाग्रस्त । कतिले शेयर गरे, कतिले आत्माको शान्तीको कामना गरे र कति कारण खोतल्न लागे । केहि नेपाली अनलाइनहरु भने तात्तातो समाचार पस्किने निहुमा काँचै खाना पस्कने लहैलहैमा पनि लागे, यद्दपी हामी पाठकहरुलाई यो नौलो कुरो थिएन । पछि थाहा भयो उक्त जहाज युक्रेनमै संघर्षरत समुहद्वारा आकाशमै विस्फोट गराइएर खसालीएको रहेछ । अधिकार, स्वतन्त्रता वा प्रतिरक्षाको नाममा गरिएका कुनै पनि संघर्ष वा आन्दोलनले निर्दोषमाथि गरिएको यस्तो अमानविय र क्रुर हर्कतको औचित्यलाई पुष्टी गर्न सक्दैन र ति माफीका लायक पनि रहन्नन ।

सहि र गलत छुट्टाउन सक्ने र वौद्दिक चेतनाको स्तरले मानिसलाई सामाजिक प्राणी बनाएको छ । यीनै गुणको कारण पनि ऊ पृथ्वीको मालिक भएर सम्पूर्ण जगतलाई राज गरेर वसेको छ । विज्ञान र प्रविधिको विकासले फड्को मारेसंगै सारा विश्वनै एउटा हत्केला र औंलाको खेलमा अडेको छ । हो, मानिसको चेतना र बौद्दिकताले उसले संसारमाथि विजय हासिल गरेको छ ।

download

Source: Google

तर, संसारलाई जितेर सर्वश्रेष्ठ भएको मानव आफैसँग भने हारेको छ । ऊ आफै निर्धक्क भएर हिड्ने अवस्था छैन । एउटा मानवलाई अर्को मानवसँगै डर छ । कहाँ कुनावेला कसले के गर्ने हो र अप्रिय घटना घट्ने हो कुनै लेखाजोखा छैन । एकले अर्कोलाई लुट्ने, पिट्ने, काट्ने र मार्ने सामान्य भएका छन् । हुन त परापुर्व कालदेखि नै देवता र दानवहरुको युद्दको कल्पना गरीएको मानव समाजमा सभ्यताको सुरुवातदेखि नै युद्द, लडाई र हिंसाको कुरा नौलो हैन । तर ठूला दुई विश्वयुद्द हुदै यो स्थितिसम्म आइपुग्दा एक मानव जातिले आफ्नो स्वार्थ पूर्तिका लागि अर्को माथि गरेको दमनको कहालीलाग्दो अवस्थाले हामी कतातर्फ उन्मुख हुदैछौं भन्ने एउटा गम्भिर सवाल जन्माएको छ । चाहे त्यो वोको हरामले धर्मको नाममा अवोध स्कुले वालिकाहरुमाथि गरेको अत्याचार होस वा इजरायल, प्यालेस्टाइन र इराकमा स्वतन्त्रता र आतंकवादको नाममा गरिएका निर्मम हमलाहरु होस्, सबैले मानवमा हराएको संवेदना प्रस्ट झल्काउछ ।

संसारलाई जितेर सर्वश्रेष्ठ भएका हामी मानवहरुमा आफ्नो मानवता हराएको छ । कारण के त ? धर्म, जाति र राष्ट्रियता ? अँह हैन । कुनै पनि धर्मको सार हिंसा हुदैन, त्यो त मानिसले आफु अनुकुल व्याख्या गरेर तोडमोड गरेका हुन् । जवाफ सजिलो छ – इगो । हामीमा को ठूलो बन्ने प्रतिस्पर्धा, अथवा तँ भन्दा म के कम भन्ने टकरावी भावना । त्रेता र द्वापर युगमा भएका भनिएका महाभारत र रामायण होस् या अहिलेका वौद्दिक भनिएका मानव जातिले अहिलेसम्म गरेका ठूला ठूला युद्दहरु, सब यसैको उपज हो । मानिस भएर जन्मेपछि आउने एउटा स्वाभाविक गुण हो “इगो” । तर हरेक कुराको आफ्नै परिधी हुन्छ । सिमा भन्दा बाहिर नाघ्नाले भएका यी मानविय संवेदना र मानवता विर्साउने घटनाहरुले हामी संसारको सर्वश्रेष्ठ र वौद्दिक प्राणीलाई कता लाँदैछ? के हाम्रो मानव सभ्यता र इतिहाँस नै ध्वस्त हुने त हैन ? एकपटक सोच्नै पर्ने वेला आएको छ ।

सपना लिलामीमा छ….(भाग ३)


story

भाग २ पढ्नुभयो? छैन भने यहाँ क्लिक गर्नुहोस !!

(Smoking is injurious to health)

अगाडी सरला उभिरहेकी थिइ, मेरो स्कुल पढ्दाको साथी । हाम्रो घरभन्दा केहि पर मात्र उसको घर थियो । स्कुलमा हामी मिल्ने साथी थियौं ।
हातको सिगरेट एसट्रेमा निभाएँ ।

“अँ, म” मैले जवाफ फर्काएँ ।

“कताबाट आयौ यतिवेला ?” उसले सोधी ।

“म काठमान्डौबाट, तिमी नि ? के गर्दैछौ आजकाल?”

“म पोखराबाट, ट्राभल एजेन्सीमा टिकेटिंग गर्छु ।”

यस्तै हालचाल अनि दैनिकीका गफ भए । म उसँग खोल्न चाहन्थें मेरा विगत, वर्तमान र अनिश्चित भविष्यका पोकाहरु, तर मुख वाउन सकिन । आफ्ना पिडा र दुखका आशु देखाई, सहानुभुतीको सस्तो भिख माग्न मेरो मनले मानेन । म जे थिएँ आफैसंग थिएँ । म आफैलाई सुनाउन चाहन्थें र आफैं संग राख्न चाहन्थें यी निरस जिन्दगीका विरहहरु, किनकी मेरो सबैभन्दा ठूलो साथी म आफैं थिए, मलाई म जतिको धैर्यता पुर्वक सुन्ने र बुझ्ने कोहि थिएन । हो, म रस चुसेर फ्याकिएका आँपका वेवारिसे कोयाझैँ थिएँ, निरस र खोक्रो ।

******

१२ कक्षाको पढाइ सुरु हुन लाग्यो । म काठमान्डौ लागेँ । फेरि उहि शहर, तर म भित्र बेग्लै उमंग थियो, किनकी त्यहाँ मेरी आयशा थिइ । मेरा जीवनका लक्ष र गन्तव्यका गोरेटोहरु पनि त्यहि बाटो हुदै जादैथिए । हो काठमाण्डौ म यस कारणले फ़र्कदैथिएं कि, त्यहाँ मेरा जीवनका दुई सपनाहरु: आयशा र सुन्दर भविष्य, दुवै मेरो प्रतिक्षामा थियो ।

कक्षा १२ को पढाइ धमाधम हुदै थियो । हामी उसैगरि कलेज जाने आउने गरिरहेका थियौं । शनिवार कि त कतै घुम्न गइरहेका हुन्थ्यौं कि त मुभी हेर्न ।

११ को रिजल्ट आउने हल्लै हल्लाको विचमा रिजल्ट आयो । मोबाइलमा सिम्बोल नं एस. एम. एस. गरेर पठाइसकेको थिएँ ।

“ वाउ इट्स ८१ परसेन्ट ”

म तीन हात माथि उफ्रिएँ । आयशालाई फोन गरें, उसको ७८ । मेरो खुसीको सीमा रहेन । घरमा आमालाई फोन गरें र खुसी साँटासाँट गरें । भोलिपल्ट कलेजमा पनि सबैले बधाई दिए । त्यहि गएसी थाहा पाएँ म कलेजमा टप ५ मा परेको थिएँ ।

एकदिन शुक्रबार मैले आयशालाई बेलुकी बाहिर कतै रेस्टुरेन्ट जाने प्रस्ताव गरें । मैले साथीको बर्थडे छ भनेर बहाना बनाएँ, उसलाई पनि त्यहि गर्न भनें ।

“बि इन बालाजु चोक एट फाइभ” मैले एक घण्टा अघि एस. एम. एस. गरें । ५ बज्दा ऊ सोहि ठाउँमा थिइ । त्यसपछि हामी लाग्यौं लाजिम्पाट तिर ।

फ्रेन्च एम्बेसी नजिकै रहेको Trisara भित्र छिर्यौँ । कुटुम्भको मिठो धुन वजिरहेको थियो । भित्र वातावरण हेर्नालायक थियो । हामी अलिक कुनाको टेवलमा गएर वस्यौं । मैले स्प्रिंग रोल अर्डर गरें, उसले फ्रेन्च फ्राई, अनि दुइटा कोल्ड ड्रिंक्स पनि ।

स्टेजमा “बाँझो खेतमा, छड्के सलाम छ..” को इन्स्ट्रूमेन्टल वजिरहेको थियो । हामी भएठाउँ भने एक किसिमको मौनता थियो । ऊ अंकलले यु. एस. बाट पठाइदिनुभएको आइफोनमा स्क्रीन तल माथि स्क्रोल गरिरहेको थिइ, सायद फेसबुकको टाइमलाइन हेर्दैथी । म भने उसलाई हेर्दै टोलाइरहेको थिएँ ।

आयशा ब्राउन फूल स्लिभ टी-सर्ट र डार्क व्लु पाइन्टमा थिइ । आँखाको परेलीमा कालो आइलाइनरको रेखाको माथि सलक्क परेको आँखीभौं थियो, त्यस माथि लाम्चो निधार अनि त्यहाँबाट मुन्तिर लत्रिरहेको केहि त्यान्द्रा कपाल । ऊ घरीघरी त्यो कपाललाई कानको पछाडी लगिरहन्थी, तर फेरि त्यो उसकै निधार हुदै गालामा स्पर्श गर्न आइपुग्थ्यो । मनमनै सोचें, कस्तो वेइमानी कपाल । उसको मुहारमा आज वेग्लै चमक थियो । किन हो म उसलाई आज धेरै नै राम्री देखिरहेको थिएँ । के मेरी आयशा साँचै यस्ती राम्री थिइ? म आफैले आफैलाई प्रश्न गर्न लागेँ ।

“ एउटा कुरा भनम ” मैले मौनता चिर्दै सोधें ।

“ नाइँ दुइटा भन ” उसले लेघ्रो तान्दै भनी ।

“ ह्याब यु थिंक्ड एबाउट आउर फ्युचर ? ” मैले प्रश्न गरें ।

“ या, अ व्युटीफुल होम, फ्यामेली, चिल्ड्रेन्स एण्ड र भोल्कस्वागेन कार, हाहा ”

म अलिक सिरियस हुन् खोज्दै थिएँ तर, उसले मेरो कुरा हावामा उडाईदीइ, त्यो पल्लो टेवलमा वस्ने एक युवकले तानेको सिगरेटको धुवा जस्तै ।
उसको यहि हरेक कुरालाई हलुका लिने वानीले मलाई परस्पर शशंकित वानाउथ्यो । कतै उसले हाम्रो रिलेसनसिपलाई नि यसरी लाइट्ली त लिईरहेकी छैन ? म वारम्वार आफैंलाई प्रश्न गर्थें ।

आज उसैलाई पनि सोधें, “ तिमीले हाम्रो रिलेसनलाई नि यस्तै हलुका त लिएको छैनौ नि है ?”

“ प्लिज डन्ट टक लाइक द्याट, यु विल वि इन माइ हर्ट फरएभर ”

यस्तै यस्तै कुरा गर्दै हामी त्यहाँबाट १० बजे निस्कियौं । ट्याक्सीबाट उसको घर छोडीदिएँ अनि म नि फर्कें ।

ढिलो घर फर्केको भनेर घरमा गाली खाएको कुरा राती सुत्नुअघि एस. एम. एस. गरी । मैले पनि डन्ट ओरी डियर, गुड नाइट भनेर किसको स्माइली सहित रीप्लाई गरिदिएँ । उताबाट पनि स्वीट ड्रिम्सको रीप्लाई आयो ।

यसरी नै १२ कक्षा पनि वित्यो । परिक्षा दिईहोरी दुई तिन दिनलाई घर फर्किएँ । फेरि एम. बी. बी. एस. इन्ट्रान्स प्रिपेरेसनको लागि काठमान्डौ नै फर्किएँ र पुतली सडकको एउटा इन्स्टिच्युटमा भर्ना भएँ ।

काठमान्डौ फर्केपछि आयशासंग भेट भएको थिएन । पुतलीसडकमै इन्स्टिच्युट अगाडी भेट्न बोलाएँ । ऊ अलिक चिन्तित देखिन्थी, सधैको हँसिलो उसको मुहार अलिक मलिन थियो ।

“ के भयो ? किन स्याड ? ” मैले सोधें ।

“ बाबाले भन्नुभएको म अव यु. एस. जाने अरे, अंकलले उताबाट स्कलरसिप सहितको एप्रुभल लेटर पठाइदिन्छु भन्नुभाछ, मलाई टोफेल प्रीपेरेसनमा एडमिट गरिदिनुभएको छ । ”

उसको अंकल उहाको परिवार सहित यु. एस. रहनुभएको कुरा उसले पहिलै वताएकी थिइ । वेलावेलामा आफु पनि उतै जाने जस्तो कुरा गरिरहन्थी तर यसरी एकपटक नसोधी निर्णय गर्छे भनेर सोचेको समेत थिइन ।

“ बरु तिमी नि छोड्देउ यो सब, म अंकलसंग कुरा गर्छु, तिमी पनि एप्लाई गर । ”

उसको यस्तो कुराले म अवाक भएको थिएँ । त्यसपछि म फनक्क फर्केर कोठातिर लागेँ ।

१ महिना सम्म उसँग कुरा भएन । उसको त्यो दिनको कुराले मलाई ऊ माथि वितृष्णा जगाएको थियो । एकदिन भृकुटीमण्डपमा म माइक्रो कुरीरहादा ऊ भेट भएकी थिइ ।

मेरील्याण्डको एक युनिभरसीटीबाट आएको लेटर अफ इन्ट्रेस्ट अनि स्कलरसिपको कागज देखाउदै भनी, “ यु नो आकाश, माइ ड्रीम ह्याज नाउ कम ट्रु । ” म मौन रहें ।

त्यसक ठिक ३ महिना पछि ऊ अमेरिकाको लागि उडी । साथै मेरो उसँगको जिन्दगी विताउने सुन्दर सपना पनि उड्यो, लट्टाई बाट छुटिएर हावाको गतिमा निरर्थक उडेर रुखमा अल्झिएको चंगाझैँ म पनि अल्झिरहें।

त्यसपछि मेरो जिन्दगीमा एक किसिमको रिक्तता छायो । पढाइमा राम्रोसंग ध्यान पनि गएन. एम. बि. बि. एस. को इन्ट्रान्स एक्जाम पनि राम्रो भएन । अर्को वर्ष कुर्नुको अर्को विकल्प मसंग थिएन, किनकी पैसा तिरेर पढ्नु मेरो सामर्थ्य भन्दा वाहिर थियो । पढ्न मन लाग्न छोड्यो र म डिप्रेसनको विमारी भएँ ।

१ वर्ष पछि,

म काठमान्डौ छोड्दै आफ्नै गाउ लागें । विहान ८ बजे नयाँ वसपार्कबाट गाडी चढें । गाडीमा गुड्नु अघि फेसबुक लग इन गरें, टाइमलाइनको सुरुमै आयशाको अपडेट आयो, “ अ डे आउट” फोटो एल्बममा उ सायद उसको नयाँ व्वाईफ्रेन्डसंग कुनै समुन्द्रको बिचमा रमाइरहेकी थिइ ।

मेरो जीन्दगीको दुईटा सपना थियो, एउटा आयशासंगको सुखी र सुन्दर संसार बसाउने अनि अर्को डाक्टर बनेर गाउमा एउटा ठूलो अस्पताल खोल्ने । यी दुवै सपना मेरो लागि कुनैवेलाको मिठो कल्पना शिवाय केहि भएन । हो, मेरो जीन्दगीको सपना एउटा अक्करमा फुल्न खोजेको फुलको कोपिला झैँ भयो, न त फक्रिएर फुल्न सक्यो न त ओइलाएर झर्न नै सक्यो ।

*****

पढ्दा पढ्दै सकियो । आँखा रसिला भएका थिए । डायरीबाट आँखा तन्काएर यसो पुलबाट तल हेरें । दुइजना शशस्त्र प्रहरीका जवानहरु खोंचबाट तल पस्न खोज्दै थिए । मान्छेहरुको भिडले ठेलमठेल भैसकेको थियो । अर्को एक प्रहरी आएर त्यो डायरी मेरो हातबाट लिए अनि फेरि त्यहि कालो एडीडास व्यागमै हाले । भिडलाई पछाडी हट्न प्रहरीहरु सुझाइरहेका थिए । मलाई भाउन्न भयो, अनि त्यहाँबाट निस्किएर सरासर होस्टेल लागेँ । बेलुकी समाचार सुन्दा थाहा पाएँ, महेन्द्रपुलबाट सेतीको खोचंमा हामफालेका युवकको उद्दारको क्रममा मृत्यु । एकछिन शुन्यता छायो, आँखा चिम्ले । ल्यापटप खोले अनि वर्डमा दिउसो डायरीका एक एक कुरा सम्झदै टाइप गर्न लागेँ । वेलुकी ब्लगमा एउटा शीर्षक दिएर लामो लेख बनाएर पोस्ट गरें, “सपना लिलामीमा छ”…..

समाप्त!!!

कथाको पुरै शृंखला पढिसक्दा कथा कस्तो लाग्यो!! पत्रिक्रिया दिनुहोला!! 🙂

सपना लिलामीमा छ….(भाग २)


story
(Smoking is injurious to health)

भाग १ पढ्नुभो? छैन भने यहाँ क्लिक गर्नुहोला!

आँखा खुल्यो, कुनै लामो निन्द्राबाट व्युझेझैँ भान भयो । टाउको भारी थियो, निधारमा पट्टीहरु वाधिएका थिए भने हातमा पनि सेता व्याण्डेज कसिएको थियो । म कुनै जेलमा निर्ममतापुर्वक यातना दिइएको कैदी झैँ लाचार भएर अस्पतालको शैयामा पल्टिरहेको थिएँ । नजिकै स्ट्याण्डबाट सलाइनका थोपा तप्प तप्प चुहिदै थिए, ति पाइप र सुइ हुदै म भित्र पसिरहेका थिए र मलाई जीवित तुल्याईरहेका थिए । म शरिरको जीउदो थिएँ, तर मेरो हंसले ठाउँ छोडिसकेको थियो । म आफै आफुलाई जीवित भएको पत्त्याईरहेको थिइन, तर मेरो मुटु धड्किरहेको थियो, श्वासप्रश्वास चलिरहेको थियो । हो म जीउदो थिएँ, म मा जीवन थियो ।

“बाबु”

माइजुको आवाजमा केहि उत्साह थियो ।

“हजुर”

म मलिनो स्वरमा बोलें ।

“कस्तो छ तपाईलाई ?”

“ठिकै छ”

मैले पुलुक्क उहाँको अनुहारमा हेरें, मामा पनि नजिकै हुनुहुन्थ्यो ।

“अहिले विरामीलाई धरै बोल्न नलगाउनुहोला” नर्सले भनिन, “ तपाईहरु एकछिन वाहिर गईदिनुहुन्छ कि”

मामा, माइजु वाहिर निस्कनुभयो ।

पल्लो बेडमा आयशा उठेर म तिर हेर्दै टोलाइरहेकी थिइ । ऊ तिर फर्केर हेरें, मधुर मुस्कानले मुस्कुराईरहेकी थिइ । उनको त्यो मुस्कानमा खुसी भन्दा पनि पिडा प्रष्ट झल्कन्थ्यो । मान्छेहरु विरलै पिडामा पनि मुस्कुराउन सक्छन, साच्चै मनमा आँशुको भंगालो लिएर ओठमा मुस्कुराउन ठुलै साहस चाहिन्छ । वास्तवमै आयशा साहासी थिइन ।

अस्पताल भर्ना भएको चौथो दिनमा म डिस्चार्ज भएँ । थप १५ दिन घरमै आराम गर्ने डाक्टरहरुको सुझाव थियो । आयशा दुई दिन अघि नै डिस्चार्ज भएकी थिइ । अब १५ दिन मैले घरमै विताउनुपर्ने थियो । यो मेरो लागि ठुलै संकट थियो ।

मसंग नोकिया ६३०० मोडलको मोबाइल थियो, स्कुलमा छात्रवृति पाएको पैसाले किनेको । मेरो आफ्नै मेहिनतको कमाई, मेरो आफ्नै परिश्रमको फल । कलेजमा मोबाइल लान पाइन्थेन, घरबाट कहिलेकहिँ फोन आउथ्यो, अरुबेला खासै प्रयोग हुन्थेन । यो बेला टाइम पास गर्न भने यसले ठुलै मद्दत गर्यो ।

म सानै देखि रेडियोको पारखी थिएँ । स्कुल पढ्दा रेडियो नेपालबाट आउने “साथी संग मनका कुरा” नछुटाई सुन्थें । पछि पोखराबाट एफ. एम. पनि बज्न थाल्यो, रेडियो अन्नपूर्ण, रेडियो बाराही आदि आदि । पाल्पाको रेडियो मदनपोखरा र चितवनको सीनार्जी एफ. एम. पनि टिप्थ्यो गाउँमा ।
भुराबेलामा म पनि पछि गएर यसरी नै रेडियोमा बोल्छु भनेर सोच्थें । फगत, ति सोचाई मै सिमित भए, म कहिले रेडियोमा वोल्न सक्ने भइन ।

यो १५ दिन मलाई काठमान्डौको एफ. एम. ले राम्रै साथ दियो । पल्पसा क्याफे पनि पढें । पल्पसाको ठाउँमा आयशालाई राखें, अनि म त्यो चित्रकार । ओहो, हाम्रो त्यस्तो बिछोड नहोस भनेर मनमनै भगवान पुकारें ।

मोबाइलमा “गेट वेल सुन” भनेर एस. एम. एस. पठाइरहन्थी । ऊ भने सन्चो भएर कलेज जान थालीसकेकी थिइ । यस्तै गर्दा गर्दै १५ दिन मुस्किलले कट्यो । निधारमा घाउका खतहरु अझै सन्चो भइसकेका थिएनन । अझै एक हप्ता म घरै वसें ।

आयशा संग भेट नभएको पनि १ महिना हुन लागिसकेको थियो । लामो आराम पछि म लगवग सन्चो भएँ र फेरि कलेज जान लागेँ ।

आज १ महिना पछि म फेरि कलेज जान लाग्दैछु । आयशालाई एस. एम. एस. पठाएँ, “ बि इन बालाजु स्टप एट सिक्स, एम कमिंग टुडे ।” माइक्रो चढेर बालाजु पुग्दा ऊ कुरीरहेकी थिइ । मलाई गाडीबाट ओर्लने इसारा गरी । म अक्क न वक्क परें । अनि गाडीबाट ओर्लिएँ । हात समातेर अलिक पर लगी । हामी रिंगरोडको गाडी चढ्यौं, अनि लगनखेल पुगेर ओर्लियौं । त्यहाँबाट फेरि अर्को गाडी चढेर गोदावरी पुग्यौं । ऊ मलाई डोहोराइरहेकी थिइ र म पछिपछि लागिरहेकी थिएँ ।

हामी दुवै चुप थियौं, उसको आँखामा आशु टिलपिल गरिरहेका थिए । अलिक पर एकान्तमा पुगेपछि उ मेरो अँगालोमा वाधिई, र आँशु झार्दै भनी,

“आकाश, आइ लभ यु !!!!!”

उसले मसंग टाढिएको एक महिनाको मनको वह पुरै एकै सासमा पोखी ।

एक्कासी सन्नाटा छायो । चराको चिरविर पनि सुनिन छाड्यो । झरिरहेका रुखका पातहरु पनि रोकिएका झैँ भए । हावा वहन छोडे झैँ भयो । भर्खरै आँधीवेरीले उडाएर लगेको वस्ती झैँ उजाड भयो, सुनसान छायो । म पनि अवाक भएँ ।

मैले मौनता तोड्दै भनें,

“आई लभ यु टू आयशा, आइ लभ यु टु”

शांसारिक प्रेमको अन्तिम रुप आखिरीमा शारीरिक नै हुदो रहेछ । हो, मैले आयशाको ओठमा आफ्नो ओठ स्पर्श गरें । प्रेमको चुम्वकीय शक्तिले दुई मनलाई जोड्ने सबैभन्दा आत्मीय माध्यम चुम्वन रहेछ । मैले अनुभव गरें । त्यो पल मेरो लागि जिन्दगीको सबैभन्दा उत्कृस्ट पल थियो ।

अघिको त्यो सन्नाटा क्षणभरमै प्रेमिल वातावरणमा परिणत भयो, कुनै नाइन्टीज तिरका सिनेमाका रोमान्टिक दृश्य जस्तै । त्यो दिन हामीले प्रेमका रंगिन आयामहरु एक आपसमा साट्यौं । दिनभर मिठा मिठा गफ गर्दै यता उता डुलीरह्यौं । भविष्यका सुन्दर सपना सजाउदै कल्पनाको सागरमा संगसंगै डुबुल्की मार्यौं ।

अर्को दिनदेखि हामी पहिले जस्तै कलेज आउने जाने गर्यौं । छुटेको कोर्स कभर गर्न अलिक समय लाग्यो । आयाशाले साथीहरुसंग नोटहरू मागेर सबै सारिसकेको रहिछे । मैले उसकोबाट नोटहरु लिएँ ।

त्यो दिनपछि प्राय शनिवार हामी कतै न कतै घुम्न गइरहेका हुन्थ्यौं । काठमान्डौ नजिकैका ठाउँहरु धुलिखेल, चोभार, दक्षिणकाली, ककनी प्राय सबै हामी पुगीसकेका थियौं ।

कलेजमा पढाइ पनि धमाधम भईरहेको थियो । म धेरै समय पढाइको लागि दिन सकिरहेको थिइन । अझै एक महिनाको छुटेको कोर्स पनि कभर गर्नु थियो । मेरो लागि आयशा जति महत्वपूर्ण थिइ मेरो जीवनका लक्षहरु पनि उतिनै महत्वको थिए । हो, म प्रेममा वहकिएर आफ्नो भविष्य र सपनाहरुलाई तिलान्जली दिने पक्षमा थिईन । प्रेमलाई अभिसाप रुपमा होइन, उर्जाको रुपमा प्रयोग गर्नु मेरो लागि पक्कै पनि ठुलै चुनौती थियो ।

समय वित्दै थियो । हेर्दाहेर्दै कक्षा ११ को बोर्ड परिक्षा पनि आयो । कलेजमा परिक्षाको तयारीको लागि छुट्टी भयो । म घरै बसेर पढाइको गतिलाई अघि बढाउन थालें । आयशालाई पनि त्यहि सुझाएँ ।

परिक्षाको दिन आयो । अलिअलि डर र धेरै आत्मविश्वासलाई सँगैसँगै अँगालेर परिक्षा दिएँ । सबै पेपर राम्रै भयो । एक्जाम पछिको छुट्टीमा म घर आएँ । यसरी मेरो काठमान्डौ वसाइको एक वर्ष पुरा भयो ।

*****

साँझ झमक्कै परिसकेको थियो । पानी पनि झन झन दर्कीरहेको थियो भने मेघ गर्जने र विजुली चम्कने पनि भईरहेको थियो । ती पल्लो हटमा रहेका दुई जोडी कुइरे र गाइड आ-आफ्नो रुकस्याक बोकी बाटो लागिसकेका थिए । हाइवेमा गाडी उही रफ्तारले गुडीरहेका थिए । पारी धम्पुसको डाँडो पनि झिलीमिली भइसकेको थियो । कपको पिंधमा अलिकति कफि सेलाइरहेको थियो । म तेस्रो सुर्य वाल्ने तयारी गर्दै थिएँ ।

“आकाश, तिमी???”

एक परिचित आवाजले वोलायो । मैले पछाडी फर्केर हेरें…….

क्रमश: