हो, सूर्य फेरि उदाउनेछ….


टाढा क्षितिजमा रुमल्लीरहेको सूर्य,
दिनभरको थकान मेटाउदै,
अस्ताउन खोज्दैछ,
विश्राम रोज्दैछ,
टिलपिल टिलपिल गर्दै,
मधुरा किरण छर्दै,
विलय हुदैछ,
हो, सुर्य डुब्दैछ, अस्ताउदैछ । ।

सेतो चाँदीका घेरारुपी,
बादलसंग लुकामारी खेल्दै,
दिनभरी उसले संसार देखेको छ,
नानाथरी मानिस,
ति मानिसका आनीवानी,
चालचलन र व्यवहार,
हेर्दाहेर्दै ऊ थाकेको छ,
तर पनि,
निशब्द ऊ हेर्न वाध्य छ,
फगत, अव ऊ विदा लिदैछ,
हो, सूर्य डुब्दैछ, अस्ताउदैछ । ।

तस्विर: गूगल

तस्विर: गूगल

फेरि उदाउनलाई अस्ताउनै पर्छ,
नयाँ पालुवा पलाउन,
पुरानो ओइलाइकन झर्नैपर्छ,
वसन्तको लागि शिशिर,
र शरदको लागि बर्षा आउनैपर्छ,
हो,
बिहानीको लागि रात आउनैपर्छ,
सूर्य फेरि उदाउनको निम्ति,
निसंकोच अस्ताउनै पर्छ । ।

तर यो अन्त्य,
केवल अन्त्य मात्र होइन,
नयाँ सुरुवात पनि हो,
नयाँ जोश र उमंग भर्न,
उज्ज्यालो ज्योति छर्न,
मिर्मिरे विहानीको घडीसंगै,
चरीको चिर्विरसँगै,
बलेनीबाट शितको थोपा,
तप्प तप्प झर्दै गर्दा,
पुर्वे आकाशको क्षितिजबाट,
सूर्य फेरि उदाउनेछ,
हो, सूर्य फेरि उदाउनेछ । ।

Leave a comment