प्रकृति: अप्राकृतिक रुपहरु………….


दिनभरी एकदमै चर्को घाम लाग्यो । लेखनाथ, रिठ्ठेपानीमा त्यहि गर्मीको कारणले क्लासमा पढाइमा राम्रोसंग ध्यान दिन सकिएन । दिउसो पोस्ट लन्च क्लासमा पनि झुपुझुपू निन्द्रा लागिरह्यो । वेलुकी होस्टेल आएसी गड्यांगगुडुंगको साथ झमझम पानी पर्न थाल्यो । केहि शितलताको अनुभव भयो । प्रकृतिको नियम पनि अजीवको छ, एकैछिनमा मानिसलाई तड्पाईदिन्छ, एकैछिनमा आनन्द गराइदिन्छ । झट्ट याद आयो, अहिले आनन्द दिइरहेको यो गड्यांगगुडुंग र पानीले अस्ति राती २ घण्टासम्म निन्द्रा हराम गरेको थियो ।

प्रकृतिको अनुपम वरदानबाट सुसज्जित भएको देश हो हाम्रो नेपाल । यहि प्रकृतिको सुन्दरताको विकाउको कारण पर्यटन क्षेत्र आज हाम्रो देशको अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा हुन पुगेको छ, अथवा भनौं मागी खाने बाटो बनेको छ । त्यति मात्रै होइन वेलावेलामा बहस गर्दा यो प्रकृतिको वरदान नेपालाई विश्वमा चिनाउने एउटा वलियो हतियार पनि बनेको छ । र हामी नेपालीको लागि अहिलेको स्थितिमा गर्व गर्न लायक केहि छ भने यहि प्रकृति नै छ भन्दा अत्युक्ति नहोला ।

तर अफसोच वेलावेलामा यहि प्रकृतिको रुप हाम्रो लागि अभिसाप बनिरहेको छ ।  करिव ४-५ वर्ष अगाडी कोशी नदीमा आएका बाढी, १ वर्ष अघिको पोखरामा सेती नदीको वाढी र अहिले दार्चुला लगायात पश्चिमी क्षेत्रमा आएको बाढीले प्रकृतिको नरभक्षी रुपको झझल्को दिइरहेको छ । यी त मेरा मानसपटलमा रहेका केहि ताजा स्मरणहरु भए । मानव सभ्यताको विकाशक्रम देखि नै हेर्ने हो भने पनि प्रकृतिका यस्ता कुटिल रुपहरु कति मानव हृदयमा चहर्याउने घाउहरु बनेर बसीरहेका छन् ।

पोखराको सेती नदीमा आएको बाढी

पोखराको सेती नदीमा आएको बाढी(२०६९)

महाकाली नदीमा आएको बाढी

महाकाली नदीमा आएको बाढी(२०७०)

तर के साँचै प्रकृतिले दानवी रुप देखाएकै हों त? के प्रकृति वेलावेलामा निर्दयी बनेकै हो त? यी प्रश्नहरु आज हाम्रो सामु गम्भिर रुपले तेर्सिएका छन् ।

पानीको पर्ने काम हो परिदिन्छ, नदीको बग्ने काम हो बगिदिन्छ । यसमा प्रकृतिको के दोष ? फगत कहिलेकाहि पर्नुपर्ने भन्दा अलिक बढि परिदिन्छ र बग्नुपर्ने भन्दा बढि बगिदिन्छ । तर के प्रकृतिलाई नियन्त्रण गर्न खोज्ने मानव जातिको दोष छैन यसमा ? बाघको जुँगा चलाएसी बाघले चिथोर्न आयो भन्नु कहाँसम्म जायज कुरा हो । बगिरहेको नदीलाई ड्याम बनाएर थुन्नु, तापमान वृद्धिले गर्दा अतिवृस्टि हुनु यी सबै मानव जातिकै दुष्परिणामका फलहरु हुन् । प्रकृतिलाई मानव निर्मित जन्झिरमा कैद गर्न खोज्नु किमार्थ सहि हुन सक्दैन, यसलाई त आफ्नै वहमा बग्न दिनुपर्छ, खेल्न दिनुपर्छ । अनि मात्र हामी प्रकृतिमा रमाउन सक्छौं ।

त्यसैले एकपटक सोच्ने वेला आएको छ हामीले आफैले रोपेको विष वमन गर्ने कि वेलैमा वुद्दी पुराएर प्रकृतिलाई आफ्नै धारमा चल्न दिने!! 🙂

सेतीको बाढीको बारेमा मैले लेखेको अर्को लेख पढ्न यहाँ क्लिक गर्नुहोला: सेतीको बाढी…

जलेका अक्षरहरु…..


“धत् पढ्ने किताव पनि जलाउनु हुन्छ त लाटा? किताव जलाए पछि त पढेर दिमागमा रहेका कुरा पनि सबै जलेर खरानी भैहाल्छ नि ।”

रामेले हत्त न पत्त अँगेनोको किताव चिम्टाले झिकेर छेउमा मिल्कायो । लगबग आधा भन्दा बढी जलेर खरानी भैसकेका थिए । बाकि पनि जल्दै थियो, उसले लोटामा पानी सारेर जलिरहेको कितावमा खत्याइदियो, किताव च्वाइ गर्यो, दुखेर चिच्याएको जस्तै । ५ कक्षामा पढ्ने रामेले एक साल अघिको अंग्रेजी र सामाजिक विषयको किताव अँगेनोमा हालेर डढाउदा उसको हजुरबुबाले उसलाई गाली गर्नुभएको थियो । त्यस दिन रामको होस हवासै उढेको थियो, मन ठेगानमा थिएन ।

BlazingLetter62980

खाना खाइहोरी ऊ सुत्यो । राती उसको सपनामा ति जलेका पानाका अक्षरहरु आए । क, ख, ग, घ….. a, b, c, d….. आदि सबै हुल बाँधेर आए । ति अक्षरहरु डढेर काला ध्वासा जस्ता भएका थिए । मुस्किलले आकारमात्र चिनिन्थ्यो । राम डरले थरथर काप्दै थियो । ति काला हेर्दै डरलाग्दा अक्षरहरु नजिकै आए, तर आश्चर्य ति अक्षरहरु रोइरहेका थिए, वरवर आशु झारीरहेका थिए र भन्दै थिए:

“राम, तिमीले पनि हामीलाई जलायौ है ।”

“आज हामीजस्ता अक्षरहरु दिनदिनै जल्न वाध्य छौं, कसैले सिधै आगोले जलाउछन त कसैले हामीलाई आफ्नो गोटी बनाएर जलाउछ्न, तिमीले पनि त्यहि गर्यो ।”

“सिधै आगोमै जल्न पाए त वेस हुन्थ्यो वरु, छियाछिया पारेर अधपिल्टो पारेर खेलाई खेलाई मार्छन ।”

“ज्ञानको ठेलीमा बस्ने र उज्ज्यालो ज्योति छर्ने हामीजस्ता अक्षरहरु आज कतै पोलिएका छौं, कतै पेलिएका छौं, हामीलाई सर्कसको खेलौना बनाएर मान्छेहरु आफु मालिक भएका छन् ।”

“हामी अक्षरहरुले कतिलाई विद्वान बनाएका छौं, हामीलाई कितावमा उतारेर कति नामी भएका छन्, तर आजभोलि हाम्रो अवमुल्यन भएको छ, खेस्रा कागजका खोस्टाहरुमा लेखिने मुल्यहिन वस्तु भएका छौं हामी ।”

“हामी कतै झगडाको बिउ भएका छौं त कतै युद्दको निउ, आजभोलि हामीलाई ज्ञान बाँढन होइन मान्छे भाड्न प्रयोग गरिदैछ ।”

“राम, अब तिमी बोल्नुपर्छ हाम्रो निम्ति, हामी अक्षरहरुको खातिर, हाम्रो माध्यमबाट बन्न सक्ने शिक्षित, सभ्य र सुन्दर समाजको वहाक तिमी हुनुपर्छ ।”

रामले धेरै कुरा त बुझेन, तर जति बुझ्यो राम्रोसंग बुझ्यो, अनि चिच्याउदै भन्यो:

“हो म बोल्छु अव अक्षरहरुको निम्ति, म बोल्छु अक्षरहरुको निम्ति ।”

एक्कासी ऊ निन्द्राबाट विउझियो, तैपनि ऊ चिच्याऊदै थियो: “म बोल्छु यी जिउदै जलाइएका अक्षरहरुको निम्ति, म बोल्छु म बोल्छु ।”

***

पिलग्रिम्स बुक हाउसमा जलेको पुस्तकहरु (तस्विर: सेटोपाती )

पिलग्रिम्स बुक हाउसमा जलेको पुस्तकहरु (तस्विर: सेटोपाटी )

हिजोभर्खर ठमेलको पिल्ग्रिम्स बुक स्टोरमा आगलागी भएर हजारौ पुस्तकहरु दनदनी वलेर खरानी भएछन । त्यो दुखद समाचार पढ्दै गर्दा मेरो मनासपटलमा यो काल्पनिक घटनाले डेरा जमाउन पुग्यो । यध्यपि यी दुई घटनाहरु नितान्त फरक प्रसंग थिए । एउटा वालकको अर्धचेतन बुद्दीले गरेका उत्फट्यांग थियो भने अर्को दुर्भाग्यवस घटेको दुखद घटना । तर दुवैमा कितावका पानामा उतारिएका अक्षरहरु जलेका थिए, शब्दहरु जलेका थिए, अनि वाक्यहरु जलेका थिए । वाहिर देख्दा अक्षरहरु मात्रै जलेको देखिए पनि त्यहाँ कसैको भावना, कल्पना र यथार्थ पनि जलेको थियो, ति सबै खरानीको धुवासंगै आकासमा विलय भैरहेको थियो ।

 

अव फेरि अक्षरहरु नजलुन्, मान्छेका भावनाहरु नजलुन् ।

हो नयाँ बर्ष आएको छ…


new year

भित्तामा झुण्डिएको त्यो बुढो क्यालिन्डर,

एकपल्ट फेरि मर्न लागेको छ,

चुसेर फ्याकेको आपको कोयाझैँ,

अब ऊ निकम्मा भएको छ,

किनकी

उसको समयले नेटो काटिसकेको छ,

हो नयाँ बर्ष आएको छ  ।

 

सूर्य पश्चिममै अस्ताइरहेको छ,

खोला उहि बाटो सुसाइरहेको छ.

मानिस पुरानै,

सोच पुरानै,

अनि त्यो भित्ता पुरानै,

फेरि पनि हामी भनिरहेका छौं,

हो नयाँ बर्ष आएको छ  ।

 

हिजो त्यो पेटीमा सुतीरहेको वालक,

ति मकलमा मकै पोल्दै गरेकी आइमाई,

भट्टीमा ठर्रा लगाउन पसेका ति ग्राहक,

सडकमा परेका ति खाल्डाहरु,

अनि त्यसमा बर्षायाममा बन्ने आहाल,

धुवाँ धुलोले निम्त्याईरहेका रोगहरु,

सारा बेथिति र ढिलासुस्तीहरु,

सबै उस्तै छ,

फेरि पनि हामी भनिरहेका छौं,

हो नयाँ बर्ष आएको छ  ।

 

आएको छ त ति हुनेखानेलाई,

ति नीतिहीन नेताहरुलाई,

जनताका नाममा शासन गर्नेहरुलाई,

चिल्लो पजेरो चड्नेहरुलाई,

देश विदेश घुम्नेहरुलाई,

हो,

तिनीहरुलाई आज मात्र होइन,

हरेक दिन नयाँ बर्ष आएको छ  ।

 

तर फगत केहि परिवर्तन भएका छन्,

साझा बस फेरी चल्न थालेको छ,

गिनीज बुकमा एउटा नेपालीको नाम थपीन लागेको छ,

वीर अस्पतालमा वृद्धवृद्धाले सित्तैमा उपचार पाउन थालेका छन्,

बेलाबेलामा धिपधिप धर्मराइरहने,

आशाका मधुरा किरणहरु,

फेरि प्रकाश छर्न थालेका छन्,

र भन्दैछन,

हो साँचै नयाँ बर्ष आएको छ  ।

अधुरो यात्रा (भाग ३)


(यो कथाका पात्र तथा घटनाहरु काल्पनिक हुन्, कसैका व्यक्तिगत जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ)

Statutory Directive : Smoking is injurious to health

amazing-boy-couple-girl-holding-hands-Favim.com-421599

भाग २ पढ्नुभयो? पढ्नको लागि यहाँ क्लिक गर्नुहोस 

व्याक्ग्राउन्डमा ब्राड पाइज्लीको “व्हिस्की लुलाबाई” बज्दैथियो । ऊ एकछिन रोकियो, साहेद अर्को एक क्वाटर मगाउन वेटर तिर इशारा गर्दैथियो । फेरि सुरु गर्यो उसको त्यो “अधुरो यात्रा” जुन आज पनि एक अमिट छाप बनेर उसको मन र मस्तिस्कमा सलबलाइरहेको थियो ।

फाइनल इयरको परीक्षा नजिकिदै थियो, परीक्षाको लागि मात्र २ हप्ता बाँकी थियो । सबै साथीहरु परिक्षाको तयारीमा व्यस्त थिए । छिरिंग बिदामा घर गएको थियो र म कोठामा एक्लै थिएँ । प्राय जसो परिक्षामा हामी सँगै तयारी गरिरहेका हुन्थ्यौं । यो पाली पनि स्थिति फरक थिएन । ऊ विहानै मेरो कोठामा आउथी र दिनभरी जसो हामी संयुक्त रुपमा पढाईमा केन्द्रित हुन्थ्यौँ । पढाईको साथसाथै हामी भविष्यको सुन्दर संसारको कल्पनामा डुबुल्की मार्दै हुन्थ्यौँ ।

ऊ भन्थी, “समिर, अब यो हाम्रो प्रेमलाई चाडै मुर्त रुप दिनुपर्छ, वि मस्ट गेट इन्गेज्ड सुन”

“अब हामी त्यो संबन्धबाट टाढा छैनौ सुलोचना” म उसलाई सम्झाउथें, “यो परिक्षा सकिन देउ, एउटा राम्रो ठाउमा जागिर पक्का होस, त्यसपछिको कुरा पछि सोचौला नि”

“ड्याडीममीले मान्नुभएन भने ?” ऊ शंका गर्थी ।

“हाम्रो प्रेम त्यति कमजोर छैन प्रिय, न त यो चैत मास को हावा हुरी ले उडाउन सक्छ न त साउने भेलले नै बगाउन सक्छ, यो त गंगाको पानी जस्तै पवित्र छ, हिमालको शिर जस्तै अटल छ ।” म अर्थ्याउने कोसिश गर्थेँ ।

यस्तै मिठा मिठा गफले त्यो समयमा हामीलाई उर्जा थपेको थियो । एउटा छुट्टै संसारमा रमाइरहेका थियौ हामी ।

भन्दाभन्दै परिक्षाको दिन पनि आयो । एक आपसमा बेस्ट अफ लक साट्यौं । उचित तयारी गरेकोले हामी दुबैलाई त्यस्तो गाह्रो भएन । हप्तादिनपछि परीक्षा सकियो । प्राक्टिकललाई अर्को एक हप्ता लाग्यो ।

पोस्ट एक्जाम पिरियड यत्तिकै पोखरामै बित्यो । म एउटा राम्रो आइ. टी. कम्पनी सँग लिंक बनाउने कोसिश गर्दैथिए । दुई महिनाको अन्तरालमा खासै अरु कुरामा प्रगति गर्न सकिएन । हामी दुई बिच पनि प्राय भेटघाट भैरहन्थ्यो ।

अन्तत रिजल्ट आयो, मैले फर्स्ट डिभिजनमा राम्रै अंकको साथ उतिर्ण गरेछु, उसले चाहिँ अलिक थोरै ल्याइछे । दुखेसो गर्दैथी, पछि फकाउन गाह्रो भएन ।

जसोतसो ब्याचलर पढाइ पनि सकियो । अब एउटा राम्रो ठाउँमा जागिर अनि सुलोचानासंगको घरवार र सुखी खुसी परिवार, मेरो जिन्दगीको उद्देश्य यीनै थियो । साहेद यो भन्दा बढी मैले कहिल्यै सोचिन पनि होला ।

के सुर चलेर हो, छिरिंगले कोठामा कान्तिपुर पत्रिका किनेर ल्याएको रहेछ । मैले थाहा पाएसम्म साहेद कुनै पनि शुक्रवारको साप्ताहिक चाहिँ किनेर ल्याउन छुटाउदैन थियो उसले ।

“आजभोलि कान्तिपुले पनि मिडल पेजमा ब्लो अप छाप्न थाल्यो र?” मैले जिस्कदै सोधें

म पनि खासै पत्रिका पढ्ने मान्छे त होइन, त्यहि पनि यसो पाना पल्टाउदै गएँ । राशिफल हेरें, काम बन्ने लेखिएको थियो । भर्खर एस. एल. सी. को रिजल्ट आएकोले होला, पत्रिकामा समाचार भन्दा पनि प्लस टु कलेजहरुको निकै भड्किला विज्ञापनहरुलको एकछत्र राज थियो । अन्तिम पृष्टमा एउटा चलेकै एन. जी. ओ. ले पोखरामा आफ्नो नयाँ शाखा खोल्न लागेकोले केहि कर्मचारीहरुको आवश्यकता रहेको विज्ञापन छापेको थियो । ढुंगा खोज्दा देउता मिलेझैँ भयो । सि. भी. रेडी थियो, म उतिन्खेरै सबै डकुमेन्ट लिएर एप्लाई गर्नको लागि हिडें ।

त्यसको ४ दिन पछि इन्टरभ्यू थियो, अन्तर्वार्ताको लागि महेन्द्रपुलमा रहेको उक्त अफिसको शाखा तिर हिडियो । लाइनमा बाहिर बसिरहदा एउटा टेक्स्ट आयो, “बेस्ट अफ लक डीयर, होप द डे विल एड माइलस्टोन टु आवर रिलेसनशिप” । “थ्यांक्स स्वीटहार्ट” अनि एउटा किसको स्माइलीले रीप्लाई गरिदिएँ ।  ऊ मेरो लक्की चार्म पनि थिइ, उसको त्यो म्यासेजले अलिक कन्फिडेन्स बढेजस्तो भयो । अन्तर्वार्ता सोचेभन्दा राम्रो भयो, मेरो एकेडेमिक्स पनि स्ट्रंग नै थियो, म राम्रो रिजल्ट आउनेमा विस्वस्त थिएँ ।

ठिक भोलिपल्ट दिउसो अपरिचित नंवरबाट कल आयो ।

“कंग्राचुलेसनस समिर जी, यू आर सेलेक्टेड फर द जव, भोलि बिहान १० बजे अफिसमा हाजिर हुनुहोला ।”

म खुसीले ३ हात माथि उफ्रिएँ । उत्तिनखेरै फोन गरें सुलोचानालाई, खुसीको खबर सुनाएँ, उसको बधाईले म थप हर्षित भएँ । साँचै जीवनमा केहि उपलब्धि गरेजस्तो लाग्यो, हुन पनि सुलोचना पछिको मेरो अर्को ठूलो उपलब्धि केहि थियो भने त्यो यहि नै थियो ।

भोलिपल्ट देखि म काममा जान थालें । नयाँ संस्था र अनुभवको अभावले म केहि अल्मलिएको थिएँ । मेरो काम त्यहाँ प्राय डाटाबेस इन्ट्री गर्ने, सर्भर मिलाउने र आइ. टी. रेखदेख गर्ने हुन्थ्यो । तर त्यहाँका मिलनसार कर्मचारीहरुले गर्दा काममा भिज्न त्यति समय लागेन । काम गर्ने वातावरण र इच्छाशक्ति हुनु पर्दो रहेछ, कति चाडो समय वितेको मलाई पत्तो भैरहेको थिएन ।

“बि नि क्याफे अरोमा एट फाइभ”, अफिसबाट छुट्टी हुनु एक घण्टा अगाडी मैले म्यासेज पाएँ । काममा जान थालेदेखि उसँग त्यति सारो भेट हुन सकिरहेको थिएन । ओ साँची, ऊ त भोलि काठमान्डौ जादैछे क्यारे, कस्तो भुसुक्कै बिर्सेको ।”

हामी दुबै ५ बजे क्याफे अरोमाको यहि टेवलमा थियौं । मैले कफि र सिग्रेट मगाएँ, उसले हट लेमन र स्प्रिंग रोल अर्डर गरी । नोभा ब्रान्डको पर्फ्युमको बास्ना उसको शरीरबाट आइरहेको थियो । २ दिन अघि मात्र हेयर कर्ली गरेकी उसलाई मैले त्यो रुपमा पहिलोपल्ट देखेको थिएँ । डार्क ब्याक्ग्राउन्डमा साइनिंग इम्ब्र्योडरी गरिएको फुल स्लीभ टीशर्टमा वास्तवमै ऊ क्युट अनि इनोसेन्ट देखिएकी थिइ । किन किन ऊ पहिलेभन्दा फरक देखिन्थी, कि त्यो मेरो दृस्टीभ्रम मात्र थियो ? मैले उसलाई यसरी नियालेर पहिले कहिल्यै हेरेको थिइन, के मेरी सुलोचना साँचै यति राम्री थिई ? मैले उसलाई एकतमासले यसरी हेरीरहें, मानौं अब उसलाई कहिल्यै हेर्न पाउँदिन । हो, साँचै त्यो मेरो अन्तिम हेराइ थियो, त्यसपछि मैले उसलाई  कहिल्यै त्यसरी हेर्न पाइन ।

“कहिले फर्कन्छौ तिमी?” मैले औपचारिकता पुरा गरें ।

“१ हप्ता पछि । ड्याडी पनि त्यसको लगत्तै आउनुहुन्छ, साहेद तिमीलाई हाम्रो बारेमा कुरा गर्न बोलाउनुहुन्छ होला ।”

“के ल्याइदिन्छौ त मलाई उताबाट?”

“देर विल बि अ सर्प्राईजिंग गिफ्ट फर यू, वेट टिल देन” उसले मुस्कुराउदै भनी ।

मैले कुरीरहें तर त्यो दिन कहिल्यै आएन ।

***

“ओ सेट !!! आज त सुलोचनाको बर्थडे पो हो त, अनि ऊ काठमान्डौबाट फर्कने दिन पनि हो आज । कसो भुसुक्क निदाइरहिएनछ ।” साँढे पाँच बजे एम्बुलेन्सको साइरनले मेरो निन्द्रा खुल्यो । मोबाइल लिएर फोन गर्न लागें । ज्या मोबाइलको ब्यालेन्स त शुन्य पो रहेछ । मुख पनि नाधोइकन हतार हतार गरी तल पसलबाट कार्ड किनेर रिचार्ज गरें ।

परेवाको एक जोडी नजिकै विजुलीको पोलमा चिरविर गर्दै खेलीरहेका थिए । एक्कासी भ्याटभ्याट आवाज आयो, करेन्ट सर्ट भएछ क्यारे, पोथी परेवा उछिट्टीएर पर बाटोमा लडी, भाले परेवा क्वार् क्वार् रुन लाग्यो । तैट कस्तो दृश्य देख्नुपरो एकाबिहानै, मन खिन्न बनाउदै कोठामा उक्लिएँ ।

“ह्यापी बर्थडे टु यू, ह्यापी बर्थडे टु यू डीयर सुलोचना, ह्यापी बर्थडे टु यू” मैले फोनबाटै विस गरें ।

“ह्याव नाइस जर्नी, सी यू एट लेकसाइड इन इभिनिंग”

उसले बिहान १० बजेको माइक्रो चड्ने र बेलुका लेकसाइडमा भेट्ने कन्फर्म गर्दै फोन राखी ।

कति छिटो काम गर्न थालेको पनि १ महिना भइसकेछ । आज म मेरो मेहिनेत र परिश्रमको पहिलो स्यालरी बुझ्दैछु । सुलोचनाको बर्थडे पनि आजै । ऊ सँग १ हप्ता पछि भेट हुदैछ, किन किन आज विशेष दिन लागिरहेछ । खासै काम पनि थिएन अफिसमा, चाडै छुट्टी लिएँ । पोखरा व्यकरीबाट केक अर्डर गरें अनि अर्किड रेस्टुरेन्ट एण्ड बार मा एक टेवल रिजर्भ गरेर बेलुकाको लागि सबै तारतम्य मिलाएँ ।

भर्खर दिउसोको २ बजेको थियो, कोठामा फर्कें । मुख सुकिरहेको थियो, दुई गिलास पानी रित्याएं ।  छाती चसक्क चस्क्यो, सिसाको गिलास भूइमा खस्यो अनि झर्याम्म फुट्यो, उफ गिलास खसेको नि भेउ पाएनछु । धन्न धेरै टुक्रा भएनछ, जसोतसो उठाएर पोको पारें ।

सुलोचनाको फोन पनि लागिरहेको थिएन, यो हाइवेमा हिडेको बेलामा फोन लगाउनु पनि सानोतिनो युद्ध जितेझैं हुन्छ । बत्ती आइरहेको रहेछ, के सुर चलेर टिभी हेर्न मन लाग्यो । टीभी खोलेर हेर्दा छाँगोबाट खसेझै भएँ । काठमान्डौबाट पोखरा आउदै गरेको माइक्रोबस मुग्लिन नजिकै दुर्घटना भएर त्रिशुली नदीमा खसेको फ्ल्यास न्युज सबै च्यानलहरुले देखाइरहेको थिए । कतै त्यो गाडी सुलोचना चढेकै त थिएन?  ओठमुख सुकेर सुख्खा भयो । फनन्न एक फन्को घुमायो । एकैछिनमा समाचार आयो, दुर्घटनामा मृत्यु भएका यात्रुहरुको नाम भन्न थाल्यो, आखिरमा जे नहुनु थियो त्यहि भयो । हो, सुलोचना अब यस संसारमा रहिन, त्रिशुलीको भेलसँगै ऊ पनि बगीरही, टाढा धेरै टाढा कहिल्यै नफर्कने गरी ।

म यति रोएँ, यति रोएँ अब रुनको लागि आशु बाँकि रहेन । मेरा आँखा त रित्तिसके तर पनि आशुले आँखाबाट त्यो उसको आकृति पखाल्न सकेन । ऊ आफु त सदाको लागि टाढा भई तर उसँगका ति स्मृतिहरूका नगन्य पलहरु मेरै पासमा छोडेर गई । मलाई कहिल्यै वसन्त नआउने गरी शिशिरमा उजाडिएको नाङ्गो पाखो बनाएर गई, न म नयाँ बहारले फुल्न नै सकें, न त ओइलाएर झर्न नै सकें………….

समाप्त

अधुरो यात्रा (भाग २)


(यो कथाका पात्र तथा घटनाहरु काल्पनिक हुन्, कसैका व्यक्तिगत जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ)

Statutory Directive : ‘Smoking is injurious to health’

amazing-boy-couple-girl-holding-hands-Favim.com-421599

भाग १ पढ्नुभयो? पढ्नको लागि यहाँ क्लिक गर्नुहोस 

जसोतसो रेस्टुराँको विल तिरेर त्यहाँबाट निस्किएँ । कोठा तिर लागें, ऊ किन त्यसरी निस्किएकी हो पत्तो भएन । बाटोमा अनि कोठामा आइपुगेपछि पनि निकै पल्ट फोन ट्राइ गरें, तर उठेन । कोठामा म छिरिंग सँग बस्न थालेको भर्खर २ हप्ता भएको थियो । मेरो टाढाको नाता पर्ने काकाको छोरा थियो ऊ, पढाइको शिलशिलामा पोखरानै बस्ने भएकाले मेरै कोठामा बस्न थालेको थियो । वेलुकी खाना पकाउने पालो मेरो थियो, तर जाँगर रत्तिभर थिएन, पुरै शरिर आलस्य भएको थियो । म ओइलाएको सागझैँ लत्रक्क परेको थिएँ । मनमा के गरौँ कसो गरौँ छट्पटी थियो, मट्याङग्रा लागेर रन्थनिएको भंगेरो झैँ जो आफ्नो घाइते शरिर लिएर लडिबुडी गरिरहेको थियो ।

साँझ परिसकेको थियो, कोठाको झ्याल खोलें अनि एउटा चुरोट सल्काएँ । भारी जिऊ अलिकति हलुका भयो अनि मनमा शान्ति पनि । मोबाइलमा म्यासेजको टोन बज्यो, हत्त न पत्त खोलि हेरें, छिरिंगले पठाएको रहेछ । साथीकोमा बर्थडे पार्टी छ अरे, उतै बस्ने रे आज । बेसै भयो, खाना बनाउने टेन्सन मात्रै भए नि घट्यो । पल्लो घरको पसलबाट एक पोका चाउचाउ किनेर ल्याएँ, र एक भल्को उमालें । धन्न आजको छाक त्यसैले टर्यो, मनमनै चाउचाउ आविस्कार गर्नेलाई धन्यबाद दिएँ । मनमा अनेक ताना खेलाउदै गर्दा कतिखेर भुसुक्क निदाइएछ पत्तो भएन ।

जोमसोमको लागि उडेको ८: १५ बजेको फ्लाइटले मेरो निन्द्रा भंग गर्यो । मोबाइल हेरें, दुइटा म्यासेज रहेछ, दुइटै सुलोचनाको ।

उसको बुबाको एक्सीडेन्ट भएको रहेछ, त्यसैले गर्दा हिजो हतारिदै जानुपरेको कुरा उसले बताई । गण्डकी मेडिकल कलेजमा उहाँको उपचार भैरहेको रहेछ । देब्रे खुट्टा फ्र्याकचर भएको र अझै २ दीन अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएकाले ऊ आज र भोलि कलेज नआउने कुरा दोस्रो म्यासेजमा उल्लेख थियो । हिजोको घटनाको कारण थाहा पाइयो, केहि हदसम्म ढुक्क भएँ  ।

मन नलाई नलाई खाटबाट उठें । झ्यालबाट बाहिर हेरें, माछापुछ्रे सेतो दाँत देखाउदै हासिरहेको थियो । लाग्यो मलाई नै गिज्याईरहेको छ, अन्नपूर्ण र धौलागिरि पनि साथ दिदैथियो । म पनि के कम निच्च हाँसिदिएँ । पोखरा बसेको यत्तिका बर्ष भयो, यहाँ बसेर दिनहुँ हेर्दा पनि नअघाइएको कुरा केहि छ भने त्यो पक्कै पनि यहि हिमाल हो । न कुनै शोक न कुनै शुर्ता, दिनहुँ यसरीनै सेतो दाँत देखाउदै हाँसिरहेको छ । जीवन होस त यो हिमालको जस्तो ।

ढ्वाक ढ्वाक, ढोकाको आवाजले म झस्किएँ । छिरिंग आएको रहेछ । म हातमुख धुन तिर  लागें । ऊ हिजो साथीको बर्थडे पार्टीमा भएको रमाइलोको बारेमा बताउदै थियो । चिया तयार भयो, एकैछिनमा खाना पनि  ।

त्यस दिन क्लासमा खासै ध्यान दिन सकिएन । मनमा नानातरहका सोचाइहरु आउथ्यो । सुलोचनाले हिजोको मेरो प्रस्तावको वारेमा के सोची होली ? पक्कै पनि एस नै त होला नी । हिजै फेरि त्यस्तो हुनुपर्ने । कतै नो भनी भने त्यसपछिको हाम्रो संबन्ध के ? सोच्दा सोच्दै कति छिटो दिन बित्यो पत्तो भएन । भोलिपल्ट पनि दिन त्यसरी नै वित्यो ।

पर्सीपल्ट ऊ कलेज आई । ऊ खासै उत्साहित थिईन । दुई दिनको हस्पिटल बसाइले निकै थकित देखिन्थी । बाबाआमाको एक्ली छोरी भएकीले पनि उसको जिम्मेवारी अलिक भारी थियो । बाबा पररास्ट्रमा काम गर्नुहुन्थ्यो, अहिले बिदामा घर आउनुभएको रहेछ  ।

“कस्तो छ बाबालाई ?” मैले औपचारिकता निभाउदै सोधेँ ।

“अहिले ठिकै छ, डाक्टरले २ हप्ता आराम गर्नुपर्छ भन्नुभएको छ ।” मलिनो स्वरमा उसको जवाफ थियो ।

त्यस्तो उत्ताउलो र चन्चले उसको स्वभाव विल्कुल बदलिएको थियो । उसको मुहारमा एक किसिमको नैराश्यता थियो अनि सिथिलता पनि । रिमझिम गर्ने पुतली आज विल्कुल मौन थियो, मानौं पुतलीको पखेटा काटिएको थियो अथवा भनौ कुनै गहिरो चोट लागेको थियो ।

त्यो दिन त्यत्तिकै वित्यो । खासै खुल्न नसकेको उसको व्यवहार पछिल्लो दिनहरुमा विस्तारै सामान्य बन्दै गयो । हामी फेरि सँगै आउने जाने गर्न थाल्यौं । फाइनल एक्जाम नजिकिदै थियो । पुरै क्लास पढाईमा मग्न थियो । म पनि जसोतसो भएका नोट्सहरुको जोहो गरी पढ्दै थिएँ । पढाइमा म ऊ भन्दा अलिक अगाडी थिएँ । विचविचमा क्लास छुटेकाले केहि सब्जेट कभर गर्न गाह्रो भैरहेको थियो ।

“लेट्स ह्याब अ कम्बाइन्ड स्टडी” एक्जाम आउन केहि हप्ता बाकि रहँदा उसले भनी ।

म पनि किन नाइँ भन्थें र ! प्रेपरेसन लीभमा कलेजमै आएर कम्बाइन स्टडी गर्यौ । यसले धेरै फाइदा भयो ।

परीक्षा दिइयो, सोचेभन्दा राम्रै भयो । अब रिजल्टको पर्खाइ थियो । पोस्ट एक्जाम ब्रेकमा म काठमान्डौ गएँ, बालाजुमा दिदी-भिनाजुकोमा बसेँ । घरमा जिद्दी गरी गरी पछि सुलोचना पनि आइछे घुम्ने बहानाले । ऊ अंकलकोमा बस्थी नयाँ बजारमा । त्यसपछि त के चाहियो र, एक हप्ताको काठमान्डौ बसाइमा हामीले सकेजति ठाउँ घुम्यौं, गोदावरी ककनी, धुलिखेल आदि आदि । अन्तिम दिनको घुमाइ केशरमहलको “गार्डेन अफ ड्रीम्स” मा थियो । त्यो उपयुक्त अवसर थियो मनको कुरा खोल्ने, जून कुराको उत्तर मा निकै पहिले देखि खोजिरहेको थिएँ, बेगनास तालमा म त्यसको जवाफ पाउनबाट चुकेको थिएँ र अब भने त्यो मौका गुमाउन चाहन्नथें । हुन त त्यो एक औपचारिकता मात्र पनि थियो किनकी हामी नजानिदो तरिकाले प्रेमी-प्रेमिका भइसकेका थियौँ।

“तोइट बुद्धु यो पनि सोधिरहनुपर्ने कुरा हो, मैले तिमीलाई त्यहि दिन आफ्नो मानिसकेको थिएँ जून दिन मैले तिमीसंग मित्रताको हात अघि बढाएँ, यू आर माइ फस्ट एण्ड लास्ट लभ समिर ” उसको यो प्रत्रिकृया सुनेर म अवाक भएको थिएँ । त्यो दिन मेरो लागि विशेष थियो, यसर्थमा कि सुलोचानालाई मैले आफ्नो सम्झेर पहिलोपल्ट चुम्बन गरेको थिएँ ।

भोलिपल्ट हामी पोखरा सँगै फर्कियौं ।

दोस्रो बर्षको क्लास नि सुरु भयो । पहिलो बर्ष भरपुर रिजल्ट पनि आयो, दुवै पास भएछौं, फर्स्ट डिविजनमा । हामीले एकआपासमा बधाई साट्यौं । यहि खुसियालीमा लेकसाइडमा क्यान्डल डिनर गर्यौ । घर ढिला पुगेकाले उसलाई मम्मीले साफ गाली गर्नुभएछ । अब कहिल्यै त्यसरी ढिला नगर्ने प्रमिस मैले गरें, किनकी त्यो लेट नाईट डिनरको आइडिया निकाल्ने मै थिएँ ।

हाम्रो संबन्ध दिनानु दिन गाढा बन्दैथियो । हामी निकै नाजिकिसकेका थियौं एक आपासमा । प्राय कलेज टाइममा हामी सँगै हुन्थ्यौँ । कलेज सकिए पछि पनि हामी सँगै डुल्थ्यौ, घुमी फिरी घर लाग्थ्यौं । न्युरोड, चिप्लेढुंगा र महेन्द्रपुलको हुदै क्याफे अरोमा हाम्रो दैनिकी जसो नै थियो ।  म कफि र सिग्रेट मगाउथें ।

“समिर, प्लीज लिभ दीस इरिटेटिंग सिग्रेट यार” उसले एकदिन भनी ।

“हाहा” मैले उसको कुरा हाँसोमा उडाईदिएँ, एक पफ सँगै ।

“त्यस्तो के हुन्छ त्यो धुवाँमा, छोड्नै नसक्ने?” ऊ जान्न चाहन्थी ।

“वन्ली स्मोकर नो इट, सायद मैले तिमीलाई बुझाउन सक्दिन” मैले जवाफ फर्काएँ ।

त्यसपछि उसले कहिल्यै चुरोट छोड्न भनिन, उसले बुझी होला सिगरेटको लत थाहा पाउनको लागि सिग्रेट तान्नैपर्छ, ऊ त्यसो गर्ने पक्षमा थिइन ।

शनिवारको दिन प्राय हामी पोखरा नजिकै कतै घुम्न गइरहेका हुन्थ्यौँ । शान्ति स्तुप, डेभिड फल्स, महेन्द्र गुफा, सरांकोट, लुम्ले आदि आदि । साहेदै कुनै ठाउँ बाकि थियो होला जहाँ हामी नपुगेका थियौं ।

हाम्रो प्रेम दुई बर्षसम्म यसरीनै अगाडी बढ्यो । बिचबिचमा हामीमाझ स-साना मनमुटाव भैरहन्थ्यो, तर त्यो हाम्रो सम्बन्धको अगाडी गौंड थियो । हामी बिच एक आपासमा गहिरो विस्वास थियो, र भरोसा पनि । एक अर्काका परिपुरक थियौं हामी ।

ऊ बेलाबेलामा भन्थी, “समिर, हाम्रो प्रेम सधैं अमर रहिरहन्छ हगी?”

म उसको कोमल केश सुम्सुम्याउदै भन्थेँ, “युगौंयुगसम्म रहन्छ, रोमियो-जुलियट, राधा-कृष्ण, लैला-मजनु अनि समिर-सुलोचना, कस्तो मिलेको है?”

ऊ कथा भन्दै थियो, क्याफे अरोमाको त्यहि टेवलबाट । कथा पनि के भन्नु, त्यो उसको जीवनको एउटा स्वप्निल स्मृति थियो, फिक्का सपना, र तितो यथार्थ पनि ।

क्रमशः

 )

अधुरो यात्रा (भाग १)


amazing-boy-couple-girl-holding-hands-Favim.com-421599

साँझ पर्नलागेको थियो। अस्ताउन लागेको घाम क्षितिजमा टिलपिल गर्दै थियो। म हिडिरहेको थिए एकतमासले, तर कुनै गन्तव्य थिएन मेरो हिडाइको न कुनै निश्चित उदेश्यनै । चिप्लेढुंगाबाट  सिधा दायाँ हानिए महेन्द्रपुल तिर, अनि पसे क्याफे अरोमा भित्र।

“वान सिगरेट प्लीज”, मैले अर्डर गरे, “एक कप कफी पनि।”

म क्याफेको त्यहि टेबलमा थिए जहाँ हामी पहिले सयौ पटक संगै हुन्थ्यौ। उसले सधै भन्थी छोड्देउ यो बेकारको सिगरेट पिउन, मलाई त गन्ध नै मन पर्दैन यसको।

म जिस्किन्थे, बरु तिमीलाई छोड्नुपरे छोडम्ला यो चै छोड्न सक्दिन म।

तर आज मलाइ सम्झाउने कोहि थिएन, म ढुक्क संग पिउन सक्थे एउटा, दुइटा, तिनओटा जति पनि। किनकी म आज एक्लो थिए, विल्कुल एक्लो, साँझमा चारोको आशामा छटपटाइरहेको बचेराझैँ। हुन पनि मेरो उ बिना को नै थियो र, सानैमा परिवारसँग टाडिएको म जसोतसो आज एउटा एन. गी. ओ. को आई. टी. म्यानेजर थिए । आफ्नो खुट्टामा उभिन सक्ने भएको थिए, यहाँसम्म पुग्नुमा उसको ठुलो हात थियो।

ट्रींग ट्रींग मोबाइलको घन्टी बज्यो, छिरिंगले गरेको रहेछ । कोठामा कतिबेला आउने भनेर होला, कसैसँग बोल्न मन थिएन, फोन रीसीव नगरी यत्तिकै छोडिदिए । पछी म्यासेज गरे, आज खाना बाहिरै खान्छु, अलिक ढिलो हुनसक्छ । उ अनविज्ञ थियो मेरो स्थिति बारे ।

दुइटा सुर्य सकिसकेको थियो, म तेस्रो बाल्ने तयारी गर्दै थिए, वेटरले कफी टेवलमा राखिदियो ।

झमक्क अध्यारो भइसकेको थियो। अ पेग अफ रस्लान विथ स्न्याक्स, मैले अर्डर गरे। आज म स्वतन्त्र थिए, र आफुलाई आफैमा भुलाउन चाहन्थे । कुनै कुराको फिक्री थिएन मलाइ, आफ्नो भन्नेनै यसरी पराइ भइदिएपछी अब बाकि नै के थियो र मसँग। एक किसिमले रित्तो भएको थिए म, भित्रभित्रै खोक्रो भएर सुकेको मुढा झैँ ।

करिब ४ वर्ष अघि हाम्रो भेट भएको थियो। त्यो भेट एउटा अनौठो संयोग थियो। अनि मेरो जिन्दगीको टर्निंग पोइन्ट पनि ।

“हेल्लो, इट्स मी सुलोचना!” उसले हात अघि बढाउदै भनेकी थिइ, बी. आइ. टी. फर्स्ट सेमेस्टरको पहिलो दिनमा, जतिवेला कलेजको एउटा कुनामा म एक्लै झोक्राइरहेको थिएँ । एक्कासी यो आवाजले म झस्किएको थिएँ ।

“हाई, मी समिर !” मैले पनि हात लम्काउदै आफ्नो परिचय दिएँ ।

“इज दिस योर फस्ट डे ?” उसले स्थिति सामान्य बनाउदै सोधी ।

“एस” मैले जवाफ फर्काए । “तिम्रो नी ?”

“माइन टु” उसको उत्तर थियो ।

हाम्रो वार्तालाप अगाडी बढ्दै गयो । ऊ प्राय इंग्लिश एसेन्टमा जवाफ दिइरहेकी थिइ, लाग्थ्यो कुनै लेकसाइडमा बाटो बिराएर अल्मलिएको कुइरेनी सँग गफ गर्दैछु । सोचेँ, बाउआमाले गतिलै बोर्डिंग पढाएका रैछन । सामन्य औपचारिक परिचय भयो, घर, स्कुलिंग, प्लस टु आदि ।  पछि हामी क्लास एटेन्ड गर्न गयौं ।

अन्त्यमा उसले भनी, “ लेट्स बी फ्रेन्ड्स, ओके?”

“अफ कोर्स” मैले सहि थापें, मलाई पनि उसँग नजिकिने बहाना चाहिरहेको थियो, “घर जानेवेला सँगै जाँउ है?” मैले फ्याट भानीहालें ।

ऊ केटीहरुको हुलमा मिसीई, म लास्ट बेन्च तिर लागें,  झट्ट एउटा विद्वानको वाणी याद आयो, सबसे क्षमतावान दिमागहरु कक्षाको लास्ट बेन्चमै पाइन्छ, म पनि कम्ता ट्यालेन्ट विद्यार्थी कहाँ हो र ।

खासै पढाइ भएन, सबै क्लासमा कोर्सका कुरा र आइ. टी. का विकासक्रममा कुरा भए, एउटा प्रोफेसरले आफ्नो जमाना र अहिलेको आइ टी ग्यजेट्सको गतिलै तुलना गरे ।

घर फर्कदा ऊ गेटमा मलाई कुरेर बसीरहेकी रहिछे, “ओ हीरो त्यता होइन यता, यता” उसको त्यहि उत्ताउलो अनि चन्चले आवाज सुनें । म ऊ भएतिर हानिए र हामी कलेज बाहिर निस्कियौ ।

नजिकैको स्टपबाट पोखरा मिनी माइक्रो कुर्दा ५ मिनट भैसकेको थियो, तर गाडी आउने कुनै छाँटकाँट थिएन । त्यतिखेरसम्म हामी बीच आजको क्लासहरुको बारेमा धेरथोर बहस भैसकेको थियो । म पढाइको भन्दा पनि उसको व्यक्तिगत कुरो र रुची खोतल्न खोजिरहेको थिएँ, तर मेसो मिलिरहेको थिएन । त्यत्तिकैमा गाडी आयो, अन्तिम सीट खालीनै देखिन्थ्यो हामी दुवै चढ्यौ । गाडीमा पनि केहि ख्यालठट्टा बाहेक खासै अरु गफ भएन । म पी. एन. क्याम्पस गेट अगाडी झरें, ऊ लामाचौर तिर लागी । झर्नु अघि भोलि सँगै कलेज जाने बहानाले उसको नंबर मागूँ कि जस्तो लागेको थियो तर आँट आएन, यसरी केटीहरुको नंबर माग्दा पहिले म दुइचोटी फसीसकेको थिएँ  ।

वेलुकी खाना खाइहोरी ओछ्यानमा पल्टें । यसो फेसबुक लग इन गर्नुपर्यो भनी ल्यापटप लिएँ, अर्को ट्याबमा ट्वीटर र अर्कोमा जीमेल पनि खोलें । दुइटा फ्रेन्ड रेक्वेस्ट आएको रहेछ, एउटा स्कुलको पुरानो साथी रहेछ, अर्को चाँहि उही सुलोचना । म छक्क परे, कति छिटो रेक्वेस्ट पनि पठाउन भ्याईसकिछ । एसेप्ट गरिदिएँ, अनि प्रोफाइल चियाउन थालें, केटीहरुको प्रोफाइल चियाउन खप्पिस नै थिएँ म । एउटा ट्याबमा इन्फो र अर्को ट्याबमा फोटो खोलें । इन्फो सटिक थियो, आँखा गएर Favourite Quotations मा अड्कियो, “Let us always meet each other with smile, for the smile is the beginning of love” मदर टेरेसाको भनाई त्यहाँ उल्लेखित थियो, झट्ट दिउसोको उसको त्यो मधुर मुस्कान सम्झें, जव उसले आफ्नो परिचयको साथ मसँग मित्रताको हात अगाडी बढाएकी थिई । प्रत्येक एल्बम गर्दै फोटोहरु पनि सबै चाहारें । एउटा ल्यान्डस्केप मोडमा खिचिएको फोटोले औधी मन लोभ्यायो, पछाडीको व्याक्ग्राउन्ड फिक्का थियो उसको सुन्दरताको अगाडी । पर्पल टी-सर्ट र ब्लू जीन्समा मधुर मुस्कानको साथ ऊ उस्तै उत्ताउली र चंचल देखिन्थी, सायद सरांकोटको भ्यू टावर मुन्तिरबाट खिचिएको फोटो हुनुपर्छ त्यो ।

टुडुंग!!च्याट साउन्ड ले झसंग भए, म त त्यहि फोटोमा घोरीरहेको पो रहेछु ।

“ओ हीरो” उताबाट म्यासेज आयो ।

“वेटिंग फर यू टु कम” मख्ख पारिदिएँ ।

“सो स्वीट, भोलि कलेज सँगै जानुपर्छ है ?”

“स्योर, बगर आइपुगेपछि यो नंबरमा कल गर है” मैले मौकाको राम्रै सदुपयोग गरें ।

हासो ठट्टा गर्दा गर्दै कुनबेला भुसुक्क निदाइएछ ।

भोलि बिहान ७ बजे मोबाइलमा म्यासेज देखेँ, “गुड मार्निंग हीरो, बी इन द बस स्टप एट १०, ढिलो गर्ने होइन नी त्याँ”

यसरी दिन बित्दै थियो । सँगै कलेज जाने आउने, अनि बिदाको दिन नजिकै कतै घुम्न जाने । वाहिर जति नजिक थियौ कलेजमा हाम्रों बारेमा त्यति थाहा थिएन, किनकी कलेजमा हाम्रो व्यवहार सहज  हुन्थ्यो ।

एकदीन शनिवार बेगनास ताल जाने प्रस्ताव मैले राखेँ, उसले पनि मञ्जुर गरी । खाना खाइहोरी हामी पृथ्वी चोकबाट लेखनाथ मिनी माइक्रो समाई त्यतातिर हानियौ । तालको डिलडिलै हामी अलिक हाइटमा रहेको होटेल लेक भ्यू तिर लाग्यौं । मैले दुई कप कफि अनि एउटा सिग्रेट मगाए, वेगनास तालको स्पेसल स्मल फिस फ्राई अर्को अर्डर थियो । निलो बेगनासमा सुन्दरी डाँडाको छायाँ परेको थियो, मौसम सफा थियो भने हावा पनि मन्द चलिरहेको थियो । वातावरण पुरै हाम्रो पक्षमा थियो । आज म मेरो मनको वह विसाउन चाहन्थें उसँग ।

“एउटा कुरा भनौं ?” मैले औपचारिक गफ सुरु गरें ।

“दुइटै भन न” ऊसले सधैझैं जिस्किदै भनी ।

“होइन, आइ एम सीरिअस”

“भन्नुस महोदय”

“म तिमीलाई प्रेम गर्छु सुलोचना, तिमीलाई मन पराउछु, तिमीलाई आफ्नो बनाउन चाहन्छु, के तिमी सधै यसरीनै मेरो साथ दिइरहन्छौ?” मैले एकै सासमा भने ।

त्यत्तिकैमा उसको मोबाइल बज्यो, घरबाट फोन आएको रहेछ ।

“वाट???????”  ऊ ठुलो स्वरले चिच्चाई ।

एक्कासी कतै नहेरी फनक्क फर्केर रेस्टुरेन्टबाट झरी, अनि एक्कैछिनमा त्यहाँबाट विलय भई । कपमा आधा कफि बाँकीनै थियो, एकछिन वाल्ल परें, चुरोटले हातमा पोलेपछि पो झसंग भएँ, अघि के भयो थाहै भएन, आफुले आफैलाई बेगनास तालको छेवैमा पाएँ ।

क्रमशः

एउटा विरक्तिएको शालिक


हिजोभर्खरको हिउदे बर्षाले आज आकाश खुला छ, हिमाल प्रस्ट देखिएको छ। यदि हेरेर कहिल्यै नथाकिने र पट्यार नलाग्ने केहि छ भने त्यो पक्कै यहि हिमालहरु हुनुपर्छ। चिलहरु उडिरहेछन आहारको खोजीमा, वेलावेलामा एअरपोर्टबाट उडेका चिलगाडीका आवाजहरुले शान्ति भंग गरिरहन्छ।  गाडीहरु गुडीरहेका छन एकतमासले, चारै दिशामा। मानिसहरु पनि हतार हतार लम्कीरहेका छन् गन्तव्यतिर मानौ उनिहरुलाइ कसैसंग बोल्ने फुर्सद छैन।

पोखरा मलको छेवैवाट आइरहेको निकै भलादमी लाग्ने एउटा मानिसले विपरितवाट आइरहेको अर्को मानिसलाई कुममा ठक्कर दियो। दुवैले माफी माग्न जरुरी ठानेनन, सरासर आफ्नो वाटो लागे। नैतिकता हराएको छ यो शहरमा आजकाल, कोहि सभ्य बन्न चाहादैनन, किनकी सबै आफ्नै लागि मात्र बाचेका छन्। विपक्षी दलले गर्ने भनिएको आमसभाको माइकिंग चाइना पुलको वाटो हुदै आउदै थियो, एक फन्को मारेर नागढुंगा तिर हानियो। फेरी केहि वेरोजगारहरु एक दीनको लागि व्यस्त हुनेभए, ती नीतीहीन नेताको गफ सुन्न अनि थपडी बजाउन।

ए बी सी र घान्द्रुक घुमी फर्केका एक हुल कुइरेहरु लेकसाइड फर्कदै थिए। तिनीहरुले यहाँको प्राकृतिक सौन्दर्यता र हिमालहरु मात्रै देखेनन्, साथसाथै मगन्तेपन र पछौटेपन पनि देखे, किनकी त्यहाँ ट्याक्सी चालकहरु तछाड मछाड गर्दैथिए आफ्नो ट्याक्सी चढाउँन अनि होटेलमा लैजान। सभ्य समाजले खाते भन्ने सडक वालकहरु डेनड्राईडमा लठ्ठ छन्, अर्को हुल चाँही वटुवासँग पैसा माग्दैछन्। नजिकै अर्को सुटेड बुटेड त्यो मगन्ते वालकबाट भाग्न खोज्दैछन, साहेद यो विरलै देखिने दृश्य होला, जहाँ धनीहरु गरिव देखि डराइरहेका थिए। हुन त त्यो वालकको के दोष, यहाँ सबै मगन्ते छन्, सबै आफ्नो पेटको लागि माग्दैछन, वस यति फरक थियो, उ सडकमा माग्दैथियो।

???????????????????????????????

सडकछेउको एक छाप्रे पसलका व्यापारी निराश छन किनकी आज उनको बोनी पनि लागेको थिएन। ती ह्यांगरका धुलाम्मे सर्ट अनि खुइलीसकेका ज्याकेटहरु ग्राहकको पर्खाइमा थिए। जाडो सकिन लागिसक्दा पनि ति कसैका बन्न सकेनन, साहेद तिनीहरु अर्को पुष माघ कुर्दैछ्न। दमौली, चितवन र काठमान्डौको लागि छुट्न लागेको माइक्रो र मीनीवस यात्रुहरुको प्रतिक्षामा छन। पछिल्लो बसको खलासी धपाउन आउदा पनि ड्राइभर ढीपी कस्दै त्यहि बसिरहेछ। ट्राफिकको सिठी र संकेतले बल्ल गाडी गुड्यो, दमौली, मुग्लिन हुदै मलेखु अनि राजधानी काठमान्डौ।

मेरो दैनिकी हो यी दृश्यहरु हेर्नु, रहरले होइन बाध्यताले। नजिकै गाडिएको चन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा मात्र मेरो साथी बन्न पुगेको छ। दीनभर बाटो हिड्ने बटुवाहरु मलाई देख्दैनन, किनकी उनीहरुको ध्यान त्यो होडिंगबोर्डको महँगो मोबाइल किन्नेमा छ, आइ २० कार चड्नेमा छ अनि आफ्नै सुन्दर संसार सजाउनेमा छ। हो म लखन थापा हुँ, नेपालको पहिलो शहिद अनि लखन चोकको मालिक जहाँ मेरो शालिक बर्षौ देखि दीनरात यो शहरको रमिता हेर्दै बसिरहेको छ।

ढिकुरपोखरीका सम्झनाहरु


“झमझम पानी परीरहेको छ, मानौ आजै सबै पानी परिसक्नुपर्नेछ । जुका भुइमा उफ्रीरहेको छ बुत्रुक बुत्रुक, रक्तप्यासले तड्पिएर । मान्छे ३ जना – बिबेक, सन्दीप र म अनि छाता २ ओटा । लौ हेर जुका त घाटीसम्म पुगिसकेछ, तैट, निस्किदै निस्किदैन त, ओइ बिबेक निकाल्देउ त । आधा घन्टाको कस्टकर हिडाइपछी बल्ल पुगियो हेल्थ पोस्ट । हुन त त्यो मेरो जुकासँगको पहिलो भेट थिएन, तर पनि त्यो दीन खास महत्वको थियो, यसअर्थमा की म जुकाको टोकाइमा पनि रमाइरहेको थिए।”

होस्टेलवाट गाडी गुड्यो, लामो पर्खाइ पछी त्यो दीन पनि आयो । सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमको लागी हामी प्रथम बर्षको बिध्यार्थी ढिकुरपोखरी लागेका थियौ । लत्ताकपडा, केहि पुस्तक त छदै थियो, प्राथमिक उपचारको बक्सा र समुदायमा सोधिने प्रश्नावलीको साथमा केहि कौतुहुलता, केहि जोश र केहि जिम्मेवारी, यीनैको भारी संगालेर हुइकिएका थियौ, हेम्जा हुँदै ढिकुरपोखरी तिर । म अलिक गम्भिर पनि थिए, किनकी १४ जनाको हाम्रो समुहको नेतृत्व मैले गर्दै थिए, अनि आफुले उपचार गर्नुपर्ने गाउ समाज को स्थिती बुझ्न हिडेकोले यो एउटा खुड्किलो थियो, मेरो सामुदायिक चिकित्सा जीवनको । हो, हामी स्वास्थ्य खोज्न ढिकुरपोखरी हिडेका थियौ ।

अँ पुगियो ढिकुरपोखरी, स्वास्थ्य चौकीको ट्रेनीङ सेन्टरको छात्रावासमा खाना खाएर आराम गरेपछी गा वि स को कर्मचारीसँगको भलाकुसारी अनि त्यसपछी को गाउ घुमाइ । ढिकुरपोखरी बसाइको पहिलो रात, मनमा खेलेको धेरै कुरा, वाल्यकालका आफ्नो गाउ बसाइका खुराकहरु, र भविष्यमा यस्ता कयौ गाउ घुम्ने सपनाहरु । पहिलो चार दिनको प्रश्नावली मार्फत तथ्यांक तथा जानकारी संकलन को काम वास्तवमै अभुतपूर्व रह्यो । निस्चयनै जनमानसको घर घरमा गएर २५ पाना लामो प्रश्नावली निसंकोच सोध्नु र सत्य तथ्य जानकारी लिनु किमार्थ सजिलो थिएन । जानकारी लिने क्रममा भेटिएकी एउटा घरको बुढी आमैको आँखा रसाउने ह्रीदयबिदारक कथा सम्झदा अहिले पनि मन चसक्क हुन्छ । नेवारे डाँडावाट उकालो लाग्दाको जुकाको टोकाइ अनि मुसलधारे पानीको गोदाइ पनि सम्झनलायक थियो ।

जानकारी संकलन पछिको स्थानियसँगको अन्तर्क्रीया र तथ्यांक प्रस्तुतिकरणको भागमा नौलो अनुभव समेटियो । लघु स्वास्थ्य कार्यक्रम अन्तर्गतको बिध्यालय स्वास्थ्य कार्यक्रम हाम्रो लागी जटील चुनौती थियो । तर एकले थुकी सुकि, सयौले थुकी नदी भनेझै समुहको लगनशिलता र मिहेनतले उक्त कार्यक्रम सजिलै प्रा वि र अर्को उ मा विमा सफलता पुर्वक सम्पन्न गरियो । सुर्य किरणले सिकाएको दात माझ्ने र हात धुने बैज्ञानिक बिधिले पक्कै पनि माछापुछ्रे प्रा वि का भाइबहिनिहरुले लाभ उठाए । बिध्यालयका स-साना भाइबहिनिहरुलाई स्वस्थ जीवनका आयामहरु बताइरहदा कता कता निकै आत्मसन्तुष्टीको आभास भइरहेको थियो ।

धम्पुस यात्रा ढिकुरपोखरी बसाइको अर्को महत्वपुर्ण पाटो थियो । घट्टेखोला देखी करिव २ घन्टाको पैदल ट्रेकिङ, बाटोमा जुका आतंक, बेलुकाको नाचगान अनि क्याम्प फाइर । उर्फ साँचै धम्पुस बसाइको त्यो रात अनि रमाइलो, अहिले सम्झदा पनि फर्केर जाउ जाउ हुन्छ । भन्डारी रेस्टुरेन्टको दशै नै बिर्साउने मासु चिउरा पनि अर्को सम्झनलायक कडी थियो । लुम्ले को मुटु छुने हावा र कृषी बिज्ञान प्रतिस्ठान को झझल्को अझै पनि स्मृतिमा सधै ताजै रहिरहनेछ ।

वास्तवमै ढिकुरपोखरी बसाइले जीवन जिउने तरिका सिकाएको छ । पोखरा नजिकै रहेर पनि अभाव र अशिक्षा वाट भर्खरै माथी उठ्न बामे सर्दै गरेको थियो ढिकुरपोखरी । घान्द्रुक, अन्नपुर्ण बेस क्याम्प जस्तो पर्टकिय स्थलको ढोका भएर पनि ढिकुरपोखरी अझै मौलाउन सकेको छैन । फुल्दै गरेको ढिकुरपोखरीलाई ११ दीनको बसाइको क्रममा अलि अलि भए पनि मलजल गरेर अझै हरभरा बनाउन केहि राहात दिन पाएकोमा आफुलाई निकै भाज्ञमानी ठान्यौ । बाइ बाइ ढिकुरपोखरी भन्दै घट्टेखोला र हेम्जाको सेती किनारकिनारै फर्कदा स्वास्थ्य, समृद्ध र हराभरा ढिकुरपोखरीको कल्पनामा हराउदा गरिवी र अन्धकारमा जेलिएका, अन्य सयौ ढिकुरपोखरीहरुले मुख बाइरहेको थियो ।

अनुभव: मैले हेरेको बिरामी……


नाम: #####
बर्ष: #
लिङ्ग:
ठेगाना: #####
आमाको नाम: #####
बिरामी : ########
भर्ना भएको मिती: ####

यसरी नै हो मैले आज गण्डकी मेडीकल कलेज टीचीङ्ग अस्पताल, पोखरामा चिकित्साशास्त्रको बिध्यार्थीको नाताले विरामीसँग लिएको पहिलो अन्तर्वार्ता ।

बिरामी बेडमा सुतीरहेको थियो, बाबुआमा बेडको डीलमा थिए, निराश मुद्रामा देखिन्थे, टोलाईरहेका । घरमा ताला लगाएर सानो छोरी सानीमाको घरमा छोडेर आएको पिडामात्र होईन, ९ दीनदेखी पोखराजस्तो महँगो शहर, अनि अस्पतालको उकुसमुकुश वातावरणमा थुनिनुपरेको बाध्यताको प्रस्टै झल्को दुबैको आखामा देखिन्थ्यो । अस्पतालमा बस्नु उनिहरुको बाध्यता थियो, त्यो उनिहरुले बुझेका थिए । अब चाडै सन्चो भएर घर जान पाइयोस, यही उनिहरुको कामना थियो । गफगाफको हल्लीखल्लीले बिरामी ब्युझियो, मैले उतीर हेरेर मुसुक्क मुस्कुराए, उ पनि खिस्स हास्यो ।

वार्डमा यतीका धेरै भिन्न भिन्न पृस्ठभुमीका बिरामीहरु थिए । कोही टाउको, कोही पेट, कोही हात खुट्टा आदिको उपचार गराउदै थिए । फरक नाम, फरक ठाँउ, फरक अवस्थाका बिरामी भएता पनि, उनिहरुको एकै उद्देश्यको निम्ती त्यहाँ थिए, सबै आ आफ्नो रोगको निदान खोजीरहेका थिए । बिरामी हुनु कसैको रहर हुँदैन, अकस्मात र अपर्झट हामी बिरामी परिरहेको हुन्छौ, ता की हाम्रो दैनीक ब्यबहार र आचरणमा ख्याल गर्नाले हामी त्यस्ता बिमारहरुबाट केहि हदसम्म टाढै रहन पनि सक्छौ, अनि स्वस्थ जीवन जीउन सक्छौ । तर जानी नजानी हुने बिभिन्न गल्तीहरुले हामीलाई अस्पतालको सैयामा थाहै नपाइ डोहोराइरहेको हुन्छ ।

बिरामीसँग गरिने ब्यबहार र बोलीचालीले पनि उसको रोग निको बनाउन अहम भुमीका खेलीरहेको हुन्छ । मिठो बोली र नम्र स्वभावैले पनि बिरामीको आधा रोग निको भैसकेको हुन्छ भन्ने कुरा सत्य हो । आजभोलिको डक्टरहरुमा Communication Skill राम्रो छैन र म ठुलो हुँ भन्ने भावनाको कारण पनि Doctor Patient Relationship सन्तोषजनक नभएको कुरा सर्वबिदितै छ । यसले गर्दा उपचार प्रकृया र समग्र स्वास्थ्यमानै नकरात्मक असर देखिएरहेको छ । यी सानातीना कुराहरु भए पनि दुरगामी प्रभाव पारीरहेको हुन्छ । पछी आफ्नो व्यक्तिगत जीवनमा यस्ता कुराहरुमा अवश्य ध्यान पुर्याउने प्रण गरे ।

झसङ्ग भए, पछाडीबाट साथीले बोलाएको रहेछ, होस्टेल जाने बेला भैसकेछ ।

आज यो अस्पताल भिजीट र बिरामीसँगको अन्तरक्रीयाले धेरै नया कुरा सिक्न र अनुभव गर्न पाइयो । म पहिले एउटा साधारण बिध्यार्थी रहदा बिरामी प्रती हेर्ने हेराइ र अहिले चिकित्साशास्त्रको बिध्यार्थीको नजरले हेर्ने हेराइ, अँ धेरै फरक । केहि लक्ष्य, केहि सपना, अनि केहि प्रण केहि राम्रो गर्नको निम्ती । 🙂

हाइवे: यात्रा गर्दाको मेरो अनुभव


(यो लेख चलचित्रको औपचारीक समिक्षा होईन, केवल चलचित्र हेर्दा को दौरादमा मनमा उब्जेको खुलदुली र विचारहरु हुन ।)

 

                  हुन त म त्यस्तो चलचित्रको व्यवसाहिक समिक्षक होईन, न त त्यस्तो मुभी फ्रीक नै हुँ । यती चै पक्कै हो की म नेपाली चलचित्रको बारेमा जानकारी राख्छु र नेपाली चलचित्र क्षेत्रको प्रगाति देख्न चाहान्छु । करिव  पाँच-छ महिना जति अघिको कुरा होला, हाइवे भन्ने नेपाली चलचित्र चाडै आउँदैछ भनेर बाजारमा गाइँगुइ सुन्नेबित्तिकै युटुबवाट प्रोमो हेरेको थिए, त्यतीबेलादेखिनै नौलो प्रयोग भएको यो सीनेमा हेर्न म आतुर भएको थिए । असार १ गते देखि लाग्ने भनिएता पनि बिबिध कारणले श्रावण ५ मा सारिएको यो चलचित्र ठुलो आशा गरिएको नेपाली चलचित्रको सुचिमा थियो ।  बर्लीन फ्लीम फेस्टीवलमा प्रीमीएर गरिएको यो चलचित्रले प्रचारप्रसारमा कुनै कसर बाकी राखेको थिएन । अन्तमा श्रावन ५ पनि आयो र यो चलचित्र रीलीज पनि भयो ।

 

                 अरुको प्रगतीमा खुट्टा तान्ने र तल झार्न खोज्ने प्रवृती नेपालमा नौलो होईन । त्यही शिलशिला यो चलचित्रको प्रदर्शन पछी पनि देखियो । प्रदर्शन पछी आलोचना र प्रसंशा दुबै बटुल्यो यो चलचित्र ले । केहि दर्शकहरुले र केहि आफुलाई चलचित्र पण्डीत भन्न रुचाउनेहरुले अतिरन्जीत तरिकाले चलचित्रको ठाडो खन्डन नि गरे । कतिले पीच उप्केको र खाल्डाखुल्डी भएको प्रात्रीकृया पनि दिए । यस्ता प्रात्रीकृयाले कौतोहुल बनाएकोले म पनि सिनेमा हलसम्म नगइरहन सकिन ।पोखराको श्रीकृष्ण हलमा केहि साथीहरु बटुली म पनि हाइवे हेर्न गए । पुर्वी नेपालको कुनै ठाउ वाट सुरु भएको कथा अघी बढ्छ । लगातार को ३ बन्दालाई चिर्दै वसमा यात्रा गरिरहेका पात्रहरु अन्त्यमा काठ्मान्डौ पुग्छन र चलचित्र सकिन्छ ।


 

हाइवेमा मलाई मन परेका  विषयबस्तु :

१. नया विषयबस्तु र नया स्वादका साथ आएको चलचित्र ।

२. पात्रहरुको सहज अभिनय, अप्राकृतिक र उरन्ठ्यौलो संबाद नराखिएको ।

३. सीनेमाटोग्राफीको बलियो पक्ष ।

४. कन्सेप्ट र योजनाबद्ध रुपमा बनाइएको चलचित्र ।

 

सुधार्न सकिने पक्षहरु:

१ पात्रहरुको संख्या कम गरेर चलचित्रको लम्वाइ बढाउन सकिने ।

२. कुनै कुनै अस्पष्ट र नबुझिने दृश्यहरु स्पष्ट बनाउन सकिने ।

३. अझै खुलस्त पारेर एउटा बिन्दुमा लगेर अन्त्य गर्न सकिने ।

केहि कमीकमजोरीहरु हाइवेको यात्रामा पक्कै पनि थियो । तर यो स्तरको चलचित्र बन्नु र नेपाली दर्शकले हेर्न पाउनु किमार्थ सानो कुरा होईन । पक्कै पनि हाइवे युनीटले ठुलो मेहेनीतको साथ यो चलचित्र यहाँसम्मा ल्याएका छन, जसको उचित कदर गरिनै पर्छ । क्रमभङ्ग भैसकेको नेपाली चलचित्रको हाइवेमा, यो हाइवेले पक्कै पनि एउटा नया आयाम थपेको छ भन्दा अत्युक्ती नहोला!हाइवेलाई सफलताको शुभकामना ।
All the best to Team Highway 🙂